दक्ष जनशक्तिबिना विकास सम्भव छैन : मन्त्री खड्का

लोकपथ
126
Shares

 सङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दिगो समृद्धिको आधार दक्ष जनशक्ति भएको बताएका छन् ।

सङ्खुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा आयोजित ‘२० दिने पावर हाउस अपरेसन एन्ड मेन्टेनेन्स तालिम’को समापन कार्यक्रममा बोल्दै मन्त्री खड्काले परम्परागत शिक्षाले मात्र नपुग्ने उल्लेख गरे । उनले प्राविधिक सीप र व्यावहारिक ज्ञानबिना श्रम बजारमा प्रतिस्पर्धा सम्भव नभएको बताए ।

मन्त्री खड्काले सङ्खुवासभाको भौगोलिक र पर्यटन सम्भावनाबारे पनि प्रष्ट पारे । त्रिदेशीय सीमा क्षेत्रसँग जोडिएको यस जिल्लाले अर्बौँ रुपैयाँ राजस्व दिन सक्ने पर्यटन सम्भावना बोकेको भन्दै उनले यसलाई सही ढङ्गले उपयोग गर्नुपर्नेमा जोड दिए । उनले निकट भविष्यमै सङ्खुवासभामा सिटिइभिटी कार्यालय र आयुर्वेद अस्पताल स्थापना हुने जानकारी पनि दिए ।

कार्यक्रममा सिटिइभिटीका सदस्य–सचिव महेश भट्टराईले ऊर्जा मन्त्रालयको पहलमा तालिम सञ्चालन गर्न पाएकामा खुसी व्यक्त गरे । उनले तालिम लिएका युवालाई जलविद्युत् आयोजनामा इन्टर्नसिपको अवसर दिलाइदिन आग्रह गरे ।

त्यसैगरी, खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले आत्मनिर्भर जिल्ला बनाउन नियमित रूपमा यस्ता सीपमूलक तालिम आवश्यक रहेको बताए । तालिममा सहभागी युवाले प्राप्त ज्ञानले रोजगारी र उद्यमशीलतामा अघि बढ्न प्रेरणा दिएको अनुभव सुनाए ।

दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको सहयोगमा बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीले उक्त तालिम सञ्चालन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?