झलनाथलक्षित माधवको टिप्पणी- ‘हाम्रो पार्टीको भविष्य छ, गरिखाँदैन भन्नेलाई ठाउँ छैन’

लोकपथ
301
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सोही पार्टीका सम्मानित नेता झलनाथ खनाललाई लक्षित गर्दै आफ्नो पार्टी सानो भएको गलत प्रचार नगर्न चेतावनी दिएका छन् । 

पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टी सानो छ भनेर कसैले कुप्रचार गर्ने काम नगरुन्। पार्टीमा बसेर यो पार्टीले गरिखाँदैन भन्ने मान्छेलाई यो पार्टीमा ठाउँ छैन । अवश्य ठुलो छ भन्ने कुरा आउँदैन, तर यो पार्टीलाई हामीले सशक्त बनाउनु पर्छ ।’

उनले पार्टीले जनताको बिचमा आफ्नो प्रभाव विस्तार गर्न विभिन्न अभियान सञ्चालन गर्दै आएको जानकारी दिए ।

उनले उदाहरण स्वरूप मेची महाकाली अभियान र समाजवादी जागरण अभियानको चर्चा गर्दै भने, ‘मेची–महाकाली अभियानमा सयौं कार्यकर्ता सहभागी भएका थिए । हजारौँ जनताको साथ र समर्थन पाएका थियौँ । ठाउँ–ठाउँमा पार्टी प्रवेशको लहर चलेको थियो ।’

अध्यक्ष नेपालले शक्ति परिचालनको आवश्यकता पनि औँल्याए । उनका अनुसार, शक्ति परिचालन पालिका, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा चरणबद्ध रूपमा गर्नुपर्छ। उनले भने, ‘ठुला पार्टी बनाउनुपर्छ। नेपाली जनताको विश्वास जितेर नेपाली राजनीतिमा ठुलो भूमिका खेल्ने स्थितिमा पुर्‍याउनुपर्दछ।’

अन्त्यमा अध्यक्ष नेपालले शक्तिशाली पार्टी समाजको परिवर्तन र रूपान्तरण गर्न सक्षम हुन्छ भनी जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?