काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतबिच भएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गर्दै सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले प्रधानमन्त्रीको आसन्न चीन र भारत भ्रमणको अवसरमा यस विषयलाई उच्चस्तरमा उठाउनुपर्नेमा जोड दिएका हुन् ।
सांसद खतिवडाले सीमा विवादजस्ता संवेदनशील मुद्दामा दल, जात वा समूहभन्दा माथि उठेर राष्ट्रिय स्वाभिमान र एकताका लागि सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । उनले प्रधानमन्त्रीलाई दुई देशका प्रमुखसँग आफ्नो स्ट्यान्ड स्पष्ट राखेर यो समस्या समाधान गर्न आग्रह गरे ।
उनले भने, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रबाट चीन र भारतले गरेको व्यापार सम्झौताको विषय अहिले चर्चामा छ। यस समस्यालाई सरकारले कूटनीतिक पहलमार्फत छिटो समाधान गरोस् । प्रधानमन्त्रीको भ्रमणको समयमा दुवै सरकारका प्रमुखसँग कुरा गरी यो समस्या समाधान गर्नुपर्छ । हामी सबै नेपाली कुनै पार्टी वा जातको नभई सम्पूर्ण नेपालको तर्फबाट स्वाभिमान र राष्ट्रिय एकताको पक्षमा उभिनुपर्छ।’
सांसद खतिवडाले तिब्बती क्षेत्रमा हिमताल फुटेर आएको बाढीप्रति चिन्ता व्यक्त गर्दै दुई देशबिच आपसी सहकार्य र समन्वय आवश्यक रहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया