देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छ : डा. शेखर कोइराला

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले देशको राजनीतिक र सामाजिक अवस्था प्रत्येक दिन अधोगतितर्फ उन्मुख भइरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ज्ञान ज्योति महिला माध्यमिक विद्यालयको २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सांसद कोइरालाले स्खलनतर्फ गइरहेको अवस्था सुधार्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारी सबैले मिलेर लिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो । शिक्षित समाज भयो भने सभ्य देश बन्छ । घरमा एउटा महिला शिक्षित भए भने परिवार नै शिक्षित हुन्छ । तर हामी कतै न कतै चुकेका छौँ । सरकार, राजनीतिज्ञ, पत्रकार सबैले आफ्नो जिम्मेवारी पूरा गर्न सकेका छैनौँ ।’

कोइरालाले विद्यालयलाई केवल कनिका छरेर अनुदान दिएर विकास गर्न सकिन्न भन्दै सार्वजनिक विद्यालयलाई प्रवर्द्धन गर्ने नीतिगत काम गर्नुपर्ने सुझाव दिए ।

उनले थपे, ‘अहिले राजनीतिक मात्रै नभई सामाजिक अवस्था पनि देशको स्खलनतिर गइरहेको छ । यसलाई उकास्ने जिम्मा स्कुल, राजनीतिज्ञ र कर्मचारी सबैले लिनुपर्छ । सबै मिलेर सकारात्मक सोचका साथ अघि बढ्ने हो भने देशलाई अघि बढाउन सकिन्छ ।’

उनका अनुसार शिक्षामार्फत नै विश्वलाई नेपालले चिनाउन सक्ने भएकाले सरकारले सामुदायिक विद्यालय सुधारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?