ब्रिटिस मन्त्री प्रीति पटेलले इजरायल बैठकका लागि मागिन माफी

काठमाडौं, २१ कात्तिक । भारतीय मूलकी बेलायती मन्त्री प्रीति पटेलले गर्मी विदाका क्रममा इजरायली प्रधानमन्त्रीसहित वरिष्ठ इजरायली अधिकारीसँग भएको गोप्य बैठकका लागि माफी मागेकी छन् ।

बेलायती प्रधानमन्त्री थेरेसा मेको क्याबिनेटमा अन्तर्राष्ट्रिय विकास मन्त्री पटेलले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अन्य वरिष्ठ व्यक्तिहरुसँग कुनै व्यवहारिक प्रक्रिया पूरा नगरीकन कुराकानी गरेको बाहिर आएपछि उनले माफी मागेकी हुन् ।

प्रीति पटेलले यो कुराकानीबारे विदेशमन्त्रालयलाई औपचारिक जानकारी नगराएकोमा माफी मागेपनि उनले यो भेटघाटबारे विदेशमन्त्री बोरिस जोनसनलाई पहिल्यैदेखि जानकारी रहेको पनि उल्लेख गरेकी छन् ।

बेलायतको प्रमुख विपक्षी पाटीले यो घटनाबारे छानविन गर्न माग गरेको छ । प्रधानमन्त्री कार्यालयले पटेलको स्पष्टिकरणको स्वागत गरेको छ । प्रधानमन्त्री मेले पहिले भएको एक बैठकका क्रममा मन्त्रालयको दायरामा रहेको दायित्वमा केन्द्रित हुन निर्देशन दिएकी थिइन् ।

प्रधानमन्त्री कार्यालयले शुक्रबारसम्म पटेल र नेतान्याहुबीचको वार्ताका बारेमा जानकारी नभएको बताएको छ । यद्यपि कार्यालयले प्रधानमन्त्री मेलाई अझैपनि पटेलप्रति विश्वास कायम रहेको पनि उल्लेख गरेको छ । एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?