काठमाडौं। पहिरोका कारण केही समय अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड अब सञ्चालनमा आएको छ । नेपाल र चीन जोड्ने तातोपानी नाका नजिकको उक्त खण्डमा पहिरो जाँदा यात्रा प्रभावित भएको थियो ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार, सो स्थानमा नयाँ डिजाइनअनुसार काम गर्नुपर्ने भएकाले हाल पानी तथा पहिरो नियन्त्रणको काम जारी छ । ‘पहिरोले माथिल्लो भागको मानव बस्ती जोखिममा परेको हुँदा कठिनाइ भएको थियो । सडक डिभिजन चरिकोटबाट खटाइएको यन्त्र र उपकरणसहितको प्राविधिक टोलीले पहिरो पन्छाउने काम गरेको छ,‘उनले बताए ।
जैसीले भने, ‘पहाडी धरातल र लेदो बग्ने भएकाले सो स्थानमा समय–समयमा समस्या आउने गरेको छ। ग्याविन पर्खाललगायत संरचना निर्माण गरी सडक अवरुद्ध हुन नदिन प्राविधिक टोली क्रियाशील रहेको छ ।’
सडक विभागका अनुसार, सो खण्डको पहिरो नियन्त्रणका लागि विज्ञ टोलीले दिगो समाधान अध्ययन गरिरहेको छ ।
पहिलो चरणमा साना तथा हलुका सवारीसाधन सञ्चालन गरिएको थियो भने आज अपराह्नदेखि ठुला सवारीसाधनसमेत सञ्चालनमा आएका छन् । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभ राज न्यौपानेका अनुसार, यातायात सहज बनाउन प्राविधिक र उपकरणहरू अझै कार्यक्षेत्रमा परिचालित छन् ।
दीर्घकालीन समाधानका लागि समय लाग्ने भए पनि चाडपर्व नजिकिँदै गरेको समयमा राजमार्ग अवरुद्ध हुन नदिन मन्त्री दाहालको निर्देशनअनुसार प्राविधिक र जनशक्ति परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया