कैलाली कारागार झडप छानबिन समितिको निष्कर्ष : आन्तरिक प्रशासनिक मतभेदकै कारण घटना

लोकपथ
490
Shares

कैलाली । कैलाली कारागारमा साउन २३ गते भएको झडप घटनाको छानबिनका लागि गठित समितिले कारागारकै आन्तरिक प्रशासनबिचको मतभेदका कारण घटना भएको निष्कर्ष निकालेको छ ।

समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले ‘ए ब्लक’ र ‘बी ब्लक’बिचको आन्तरिक प्रशासनमा विवाद देखिएकै कारण झडप भएको प्रतिवेदन बुझाएका हुन् । उनले भने, ‘घटनास्थल अध्ययन गर्दा घाइते कैदी बन्दी, सुरक्षाकर्मी र प्रशासकसँग छलफल गर्‍यौँ । सिसिटिभी फुटेज स्पष्ट नभएकाले र घाइतेको बयान मात्र आधार बनाउन नसकिने भएकाले अझै विशेषज्ञसहितको उच्चस्तरीय छानबिन आवश्यक देखिन्छ ।’

साउन २३ गतेको झडपमा एक कैदी बन्दीको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए । गम्भीर घाइते तीन जनाको काठमाडौंमा उपचार भइरहेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ४१ जना ‘डिस्चार्ज’ भइसकेका भए पनि धेरै जना अस्पतालमै रहेका छन् । तीमध्ये तीन जनालाई कञ्चनपुर कारागार र एक जनालाई नवलपरासी कारागारमा स्थानान्तरण गरिएको छ ।

घटनापछि सरकारले तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई फिर्ता बोलाएर कृष्णप्रसाद लम्साललाई खटाएको छ । कारागार शाखा प्रमुखमा पनि नयाँ अधिकारी पठाइएको छ । १५० जना मात्र अट्ने क्षमताको कैलाली कारागारमा हाल ६९७ कैदी बन्दी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?