पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालयको उद्घाटनमा ओली नजाने, ईश्वर पोखरेलले सम्बोधन गर्ने

लोकपथ
6k
Shares

काठमाडौं । पूर्वराष्ट्रपति तथा एमाले पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले नयाँबानेश्वरको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको सम्पर्क कार्यालयको आज उद्घाटन गर्दैछिन् । 

सदस्यता नवीकरण नगर्ने पार्टी निर्णयले च्यासलको ढोकामा तगारो लागेपछि भण्डारीले सम्पर्क कार्यालयमार्फत आफ्नो राजनीतिक गतिविधि अघि बढाउन लागेकी हुन् । 

यद्यपि, भाडामा लिइएको चारतले रातो घरलाई ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनिएको छ ।

आज दिउँसो २ बजे सो कार्यालयको उद्घाटन गर्ने कार्यक्रम छ । 

सो कार्यालयको उद्घाटन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गराउने मूल व्यवस्थापन समितिको चाहना थियो । यसका लागि बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका मूल समारोह समितिका संयोजक डोरमणि पौडेलले औपचारिक निम्तोका लागि प्रधानमन्त्री ओलीको समय पनि मागेका थिए । तर प्रधानमन्त्री ओलीबाट समय नपाएपछि पूर्वराष्ट्रपति भण्डारीबाटै उद्घाटन गर्न लागिएको हो । 

उद्घाटन समारोहमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने तय भएको छ । यस्तै, एमालेका अन्य नेताहरूलाई पनि कार्यक्रमको निमन्त्रणा पत्र दिइएको छ । केही नेतालाई हातैमा र नभेटिएकाहरूलाई केन्द्रीय कार्यालय सचिवमार्फत् पाउने गरी निम्तो थमाइएको जनाइएको छ ।

पार्टी सदस्यता नवीकरण नगर्ने पार्टी केन्द्रीय समितिको निर्णयको एमाले पूर्व उपाध्यक्ष भण्डारीले चर्को विरोध गर्दै आएकी छिन् । उनले पत्रकार सम्मेलनमार्फत ४५ वर्षदेखिको आफ्नो सदस्यता कसैले खान नसक्ने जवाफ पनि दिइसकेकी छिन् । 

उनले मदन भण्डारी फाउन्डेसन मार्फत देशभरका नेता कार्यकर्तासँग जोडिने तयारी गरिरहेकी छिन् । उनले दैनिक कार्यालयमा उपस्थित भएर नेता–कार्यकर्ता, समर्थक र शुभेच्छुकसँग भेटघाटसँगै आफ्नो राजनीतिक गतिविधि अघि बढाउने उनी निकटका नेताले बताएका छन् ।

विद्याले अहिले सम्पर्क कार्यालय राख्नका लागि रोजेको यो घरलाई २०४८ सालको निर्वाचनमा मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका थिए । मदन भण्डारीले यही घरबाट २०४८ मा काठमाडौं १ बाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए ।

मदनको निधनपछि विद्याले पनि २०५१ सालको चुनाव प्रचार प्रसारको लागि त्यही घर प्रयोग गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?