प्रचण्डसँग रविको गुनासो– ‘मेरै जस्तो केसमा अरु उम्किए, मलाई फसाइयो’

लोकपथ
1.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई वर्तमान सरकारले अनावश्यक दुःख दिएको गुनासो गरेका छन् ।

नख्खु कारागारमा भेट्न पुगेका पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा प्रचण्डसँग सो गुनासो गरेका हुन् ।

प्रचण्डले सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रविलाई भेटेका हुन् । भेटपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले रविले आफ्नो जस्तो केसमा अरुले उन्मुक्ति पाइरहेको तर आफूलाई प्रतिशोध साँधेर लखेटिएको गुनासो गरेको बताए । साथै आफूले रविको पक्षमा संसद, सडकदेखि विभिन्न कार्यक्रमहरुमा भन्ने गरेको बोल्ने गरेको स्मरण गराएको बताए ।

‘मेरै जस्तो केसमा अरुले चाँही उन्मुक्ति पाउने, मेरो भन्दा गम्भीर केसकालाई, तर मलाई मात्रै लखेटियो भन्ने उहाँको पहिलेदेखिकै भनाइ थियो, अहिले मेरो अगाडि पनि त्यो कुरा राख्नुभयो । मैले पार्लियामेन्टमा बोलेको कुरा, सडकदेखि सभाहरुमा बोलेको कुरा उहाँलाई थाहा छँदैथियो, मैले त्यो कुरा पनि भनेँ,’ रविसँगको वार्तालाई स्मरण गर्दै प्रचण्डले भने, ‘अहिले चाँही कमसेकम अदालतले नै तोकेको बिगो, बैंक धरौटी राखेपछि म मुद्दा लड्छु भनेपछि पनि मैले त्यति सुविधा पनि पाइन्, सरकार र यो गठबन्धन म प्रति यतिधेरै अनुदार र विभेद किन गर्यो मैले बुझ्न सक्या छैन भन्ने कुरा उहाँले राख्नुभयो । र उहाँको त्यो लजिक वास्तवमा सबैले विचार गर्नैपर्ने लजिक हो ।’

त्यस्तै अहिले सरकारले रविमाथि प्रतिशोध साँधिरहेको भन्दै त्यसले रवि र रविको पार्टीलाई फाइदा पुगिरहेको प्रचण्डको दाबी रहेको छ । लामिछानेले पनि आफूसँग दुई दलले आफ्नो खुट्टामा आफैँ बन्चरो हान्ने काम गरिरहेको प्रचण्डको टिप्पणी रहेको छ ।

‘अहिले उहाँमाथि भएको विभेद कम होस् र उहाँलाई त्यो वातावरण सहज बनोस् भन्ने कुरा हो । तर मैले के देखेँ त भनेँ, उहाँलाई राजनैतिक रुपमा कांग्रेस एमालेले उहाँमाथि जसरी व्यवहार गरेको देखिया छ, त्यसले उहाँ र उहाँको पार्टीलाई देशभर फाइदा भएको छ भन्ने कुरा उहाँले राम्रो बुझ्नुभएको रहेछ । यो कांग्रेस एमालेले आफ्नै खुट्टामा बन्चरो हान्ने काम किन गरे, यो आत्मघाती कदम किन गरे भन्ने कुरा उहाँलाई लागेको रहेछ र त्यो कुरा पनि उहाँले राम्रै राख्नुभयो,’ उनले भने ।

भेटघाटका क्रममा उपसभामुख इन्दिरा रानाको विषयमा समेत कुराकानी भएको उनले बताए । अहिले वर्तमान सरकारले रानालाई पदबाट हटाउन लागेको विषयमा आफूहरुले कुराकानी गरेको र सरकारले आफ्नो भागबण्डा मिलाउन जनजाती महिलामाथि अन्याय गरेको प्रचण्डको निष्कर्ष रहेको छ ।

‘उपसभामुखको बारेमा पनि कुरा भयो । उपसभामुखलाई पटकपटक झम्टिने काम यो गठबन्धन सरकारले गरेको छ । मैले हिजो प्रतिपक्षको बैठक बस्दा पनि भनेको थिएँ, बिचरा त्यो इन्दिरा राना, आदीवासी जनजाती महिला अनि सामाजिक सेवामा अभिप्रेरित भएर राष्ट्रिय अन्तर्राष्ट्रिय सेवामा व्यतित्व बनाएको महिला सानो टेक्निकल, त्यो पनि गएको होइन, केही भएको पनि होइन । त्यस्तो विषयलाई जे गरिएको छ, विल्कुल गलत भएको छ भनेर चाँही मैले हिजै भनेको थिएँ । आज उहाँ (रवि) सँग पनि त्यो विषयमा थोरै कुराकानी भयो । जे भएको छ त्यो अन्याय भएको छ, निरंकुशतातिर गठबन्धन गएको छ भन्ने बुझाइ नै हुने नै भैहाल्यो । इन्दिराजीमाथि गर्न खोजिएको व्यवहार इन्दिरामाथिको होइन, यो संविधान, लोकतन्त्र र यो सिस्टममाथि प्रहार हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?