काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको ऋण आगामी एक दशकभित्र तिर्न सक्ने योजना बनाएको छ । क्यानका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले दुवै विमानस्थलको ऋण तिर्न प्राधिकरण सक्षम रहेको बताएका छन् ।
अधिकारीका अनुसार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लिएको १३ अर्ब रुपैयाँको ऋणको दुई किस्ता तिरेको छ र बाँकी समयमै तिर्ने योजना छ । भैरहवा विमानस्थलको ऋण भने ६ अर्ब रुपैयाँ मात्र रहेको छ । अधिकारीले पोखरा विमानस्थलको आम्दानीले मात्र ऋण तिर्न कठिन हुने भए पनि, क्यानको समग्र आम्दानीबाट ऋण चुक्ता गर्न सकिने बताए ।
पोखरा विमानस्थल हाल वार्षिक ११ लाख यात्रु सेवा दिँदै आएको छ । पहिला बिहान ४ बजे बन्द हुने विमानस्थल अहिले राति र बिहान नियमित सञ्चालनमा छ । अधिकारीले पोखरा विमानस्थल चीनको बृहत् परियोजना अन्तर्गत नभएको स्पष्ट पारेका छन् ।
सार्वजनिक लेखा समितिले विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै प्रतिवेदन पेस गरे पनि अधिकारीले ती आरोपलाई आधारहीन ठहराउँदै चुनौती दिएका छन् । उनले भने, ‘१५ अर्बको आयोजना २२ अर्बमा पुगेको भन्ने तथ्य समितिले हेरेको छैन। कुनै पनि कागजात वा नेपालको कानुनले भ्रष्टाचार प्रमाणित गर्दैन।’
पोखरा विमानस्थलमा १४ वटा नयाँ भवन, युरोपेली ब्रान्डका फायर भेइकल र ह्याङगर स्थापना गरिएको छ । यस ह्याङगरमा जहाज मर्मत सम्भार गर्दा एयरलाइन्सले छुट्टै शुल्क तिर्नुपर्ने व्यवस्था छ । भैरहवा विमानस्थलमा समेत यस्तै संरचना बनाइएको अधिकारीले जानकारी दिए ।
अधिकारीले भने, ‘पोखरा विमानस्थललाई गर्वका साथ लिनुपर्छ । कमी कमजोरी भए राज्यका निकायहरूले छानबिन गर्नेछन्, तर काम गर्ने मान्छेहरूलाई आधारहीन आरोपबाट बदनाम गर्न नहुने हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया