सवारीसाधन बिक्रीमा ४० प्रतिशत वृद्धि हुने अनुमान, निजी क्षेत्र उत्साहित

लोकपथ
686
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी समयमा सवारीसाधनको बिक्री ४० प्रतिशतले बढ्ने अनुमान व्यक्त गरेका छन् ।

नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालको आयोजनामा मंगलबारदेखि सुरु भएको नाडा अटो शोको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘सवारीसाधनको बिक्रीमा ४० प्रतिशत वृद्धि हुने अपेक्षा छ, जसले अर्थतन्त्रमा सुधारको संकेत दिन्छ ।’

ढकालले नेपालमा पछिल्ला केही वर्ष चुनौतीपूर्ण आर्थिक परिस्थिती रहे पनि गत वर्षदेखि निजी क्षेत्र उत्साहित भएको बताए । सरकारले निजी क्षेत्रका सुझावअनुसार ३० भन्दा बढी कानून सुधार गरेको र बजेट तथा मौद्रिक नीति पनि निजी क्षेत्रमैत्री बनाएको उनले जानकारी दिए ।

उनले थपे, ‘बैंकमा पर्याप्त लगानीयोग्य रकम छ, व्याजदर एकल अंकमा छ र कानून पनि निजी क्षेत्रमैत्री भएकाले लगानीको लागि अनुकूल वातावरण बनेको छ ।’

साथै, युरो ६ मापदण्डको लागू हुनु सकारात्मक भए पनि एकाएक निर्णयले अर्डरमा पठाइसकेका वा उत्पादन भइसकेका सवारीसाधन अलपत्र परेको अध्यक्ष ढकालले बताए । यसका लागि छोटो समय दिएर पुराना अर्डरहरू पूरा गर्न सरकारसँग आग्रह गरिएको छ ।

ढकालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रको योगदान महत्वपूर्ण रहेको पनि जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?