सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग

लोकपथ
140
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले आएको प्रतिवेदन चित्तबुझ्दो नभएको भन्दै पुनः छानबिन आवश्यक रहेको बताए ।

उनका अनुसार दुर्घटनाबारे बनेको प्रतिवेदनमा के–कस्तो प्राविधिक त्रुटि भयो भन्ने मात्रै उल्लेख गरिएको तर के गर्नु हुँदैन थियो भन्ने पक्ष समेटिएको छैन । ‘एक महिनाअघिदेखि ग्राउण्डेड जहाँजमा मान्छे लैजान हुँदैन थियो, तर त्यो कुरा प्रतिवेदनमा आएको छैन, ‘उनले भने ।

किराँतीले प्रतिवेदनलाई ‘मुटुमा क्यान्सर लागेको छ तर सबै ठिक छ भनिएको’ किसिमको लापरवाहीपूर्ण प्रतिवेदन भएको टिप्पणी गरे । उनका अनुसार संरचनागत र नीतिगत सुधारका लागि मन्त्री आफैँ सक्रिय भइरहेका बेला यस्तो लापरवाहीपूर्ण प्रतिवेदनलाई छाडेमा देशले न्याय पाउने छैन ।

सांसद किराँतीले विमान सुरक्षामा समेत चरम लापरबाही भइरहेको उल्लेख गर्दै जहाँजको ढोका राम्रोसँग नलाग्ने समस्या देखिँदा समेत ‘पहिले उडाइ हाल, पछि बनाउँला’ भन्ने प्रवृत्ति रहेको बताएका छन् ।

उनले विमान दुर्घटनाको न्यायिक छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन र भविष्यमा यस्ता दुर्घटना रोक्न आवश्यक सुधार गर्न सरकारसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?