काठमाडौं । अमेरिकी समर्थित सहायता वितरण केन्द्र नजिकै भएको इजरायली गोलीबारीमा मंगलबार कम्तीमा ३० जना प्यालेस्टिनीको ज्यान गएको छ ।
दक्षिणी गाजाको रफाहको उत्तरमा सहायता केन्द्र नजिकै भएको गोलीबारीमा दुई जनाको मृत्यु भएको छ भने खान युनिसको मावासी क्षेत्रमा थप एक जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यस्तै, देइर अल–बलाहस्थित अबु सफार मल नजिकै भएको हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको छ । नेत्जारिम जंक्शन नजिकै भएको अर्को आक्रमणमा एक जनाको मृत्यु भएको छ भने खान युनिसमा विस्थापन पालमाथि भएको आक्रमणमा दुई बालबालिकासहित चार जनाको ज्यान गएको बताइएको छ ।
गाजा सहर र खान युनिसको पश्चिममा भएको आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने देइर अल–बलाहको दक्षिणपूर्व किसुफिम क्षेत्रमा भएको गोलीबारीमा थप पाँच जनाको ज्यान गएको छ ।
त्यस्तै, देइर अल–बला हकै अल–बसाह क्षेत्रको विस्थापन पालमाथि भएको आक्रमणमा एकदेखि १३ वर्ष उमेरका तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।
यसैबिच, मध्य गाजाको सलाह अल–दिन स्ट्रिटस्थित सहायता वितरण बिन्दु नजिकै नागरिक भेलामा भएको आक्रमणपछि अल–अवदा अस्पतालले दुई जनाको शव र सात जना घाइतेलाई भर्ना गरेको जनाएको छ ।
यी घटनाहरूमा इजरायली सेनाले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । इजरायलले मार्च १८ देखि गाजामा आफ्नो सैन्य कारबाही पुनः तीव्र बनाएको छ ।
नवीनतम तथ्यांकअनुसार इजरायली हमलामा हालसम्म १० हजार ४६० प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने ४४ हजार १८९ जना घाइते भएका छन् । अक्टोबर २०२३ देखि हालसम्म कुल ६२ हजार ४ जनाको मृत्यु भएको छ । घाइते हुनेको संख्या १ लाख ५६ हजार २३० पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया