‘अदालतलाई झोक चल्दा प्रधानमन्त्री समेत बर्खास्ती र नियुक्ति गर्दा रहेछन्’

लोकपथ
1.5k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चले गरेर प्रधानमन्त्री बर्खास्ती र नियुक्ति गर्ने गरेको टिप्पणी गरेका छन् ।

मंगलबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको १९औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

उनले प्रधानमन्त्री संसदबाट चुनिने भएकाले अदालतको विषय नरहेको स्पष्ट पारे । ‘प्रधानमन्त्री संसदबाट चुनिन्छ, संसदले हटाउँछ । तर कहिलेकाहीँ अदालतलाई झोक चल्दा प्रधानमन्त्री बर्खास्ती वा नियुक्ति गरिदिन्छ, त्यो पनि हाम्रो ताजै अनुभव हो, ‘प्रधानमन्त्री ओलीले भने ।

संविधानको व्याख्या गर्ने अधिकार अदालतलाई भए पनि त्यसलाई अनुकूल व्याख्या गर्ने सुविधाको रूपमा प्रयोग गर्दा यस्तो अवस्था आएको उनको भनाइ छ । उनले आफूले अदालतको हुर्मत लिएको नभई व्यक्तिगत अनुभव प्रस्तुत मात्र गरेको बताए ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई अझै सबल बनाउन आवश्यक रहेको उल्लेख गर्दै भने, ‘हामी पूर्ण लोकतन्त्रमार्फत परिपूर्ण लोकतन्त्रतर्फ अघि बढिरहेका छौँ, जसअन्तर्गत सबै स्वतन्त्रताको हक सुनिश्चित हुन्छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?