काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडामा आवश्यक पूर्वाधार निर्माण कार्य भइरहेको बताएका छन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयसँग सम्बन्धी मौखिक प्रश्नको जवाफ दिँदै उनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माण गरिएको सेनेटरी ल्याण्डफिल साइटसहितको पूर्वाधार काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिएको जानकारी दिए ।
उनका अनुसार सहरी विकास तथा भवन निर्माण विभागमार्फत करिब ४० मिटर उचाइको बार निर्माण गर्ने योजना मध्ये हाल २५ मिटर उचाइको बारसहित सम्पूर्ण भौतिक संरचना सम्पन्न भई सञ्चालनको लागि महानगरलाई उपलब्ध गराइसकिएको छ । बाँकी उचाइ थप गर्ने प्रक्रियासमेत अगाडि बढाइएको उनले स्पष्ट पारे ।
सिंहले सिसडोल क्षेत्रमा देखिएका समस्या समाधान गर्ने, स्थानीय माग सम्बोधन गर्ने तथा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका विकल्प खोज्ने काम मन्त्रालय निरन्तर सक्रिय रूपमा गरिरहेको बताए । उनले भने, ‘फोहोरबाट उत्पन्न ब्याक्टेरियाको नियन्त्रण, कुहिने–नकुहिने फोहोरको वर्गीकरण, विद्युत् उत्पादन, कम्पोस्ट मल निर्माण तथा कच्चा पदार्थ प्रशोधन केन्द्र स्थापना गर्ने कार्यसमेत योजनाबद्ध रूपमा अघि बढाइएको छ ।
उनले बञ्चरेडाँडामा वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्न महानगरपालिकासँग सहकार्य भइरहेको उल्लेख गर्दै स्वस्थ र सफा सहर निर्माणका लागि सबै तहका सरकार बिच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया