कांग्रेस–एमालेको स्पष्टीकरण : ‘उपसभामुखविरुद्ध महाअभियोगको हल्ला निराधार’

लोकपथ
504
Shares

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग प्रस्ताव दर्ता गराउने तयारी भइरहेको भन्ने समाचारलाई खण्डन गरेका छन् । 

मंगलबार सिंहदरबारमा दुवै दलले आफ्ना सांसदहरुसँग खाली पानामा हस्ताक्षर गराएपछि यस्तो अनुमान गरिएको हो ।

नेपाली कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदीय दलले विभिन्न प्रयोजनका लागि हस्ताक्षर संकलन गर्ने गरेको बताए । उनले उपसभामुखमाथि महाअभियोग प्रस्ताव ल्याउने तयारी गरिएको भन्ने समाचार गलत भएको स्पष्ट पारे ।

उनले भने, ‘संसदीय दलले कुनै बेला आवश्यक पर्नसक्ने कार्यका लागि हस्ताक्षर संकलन गरेको हो । उपसभामुखले पदीय आचरण पूरा नगरेको भन्दै हटाउने प्रस्ताव दर्ता हुँदैछ भन्ने कुरा सही होइन । अहिले त केही विधेयकहरू अड्किएका छन्, त्यसलाई टुंग्याउनेबारेमा छलफल हुन्छ ।’

नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले पनि हस्ताक्षर संकलन महाअभियोग प्रयोजनका लागि नभएको बताए । 

यद्यपि, उपसभामुखले पदीय मर्यादा विपरीत पत्राचार गरी केही व्यक्तिलाई अमेरिकाको असम्बन्धित कार्यक्रममा पठाउने प्रयास गरेको विषय संसदमा उठेको जानकारी दिए ।

उनले भने, ‘हामी महाअभियोग प्रस्ताव दर्ता गर्ने निर्णयमा पुगेका छैनौँ । आजभोलि नै प्रस्ताव दर्ता गर्ने सत्तारुढ दलहरूको मनसाय छैन । तर उहाँमाथि लागेको आरोप किनारा लाग्नुपर्छ, न्याय पाउनुपर्छ । यो संसद्को विषय हो, सरकारको होइन ।’

कांग्रेस र एमाले दुवैले उपसभामुखविरुद्ध महाअभियोग प्रस्ताव तत्काल दर्ता गर्नेबारे कुनै निर्णय नभएको दोहोर्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?