काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय रसुवाका जिल्ला न्यायाधिवक्ता विमल थापालाई सचेत मात्रै गराएर उन्मुक्ति दिएको पाइएको छ । प्रतिवादी महिलालाई मुद्दा जिताइदिने भन्दै यौन प्रस्ताव राखेपछि उनी काठमाडौं तानिएका थिए ।
बहुविवाहको कसुरमा प्रतिवादी बनाइएकी एक महिलाको मुद्दा जिताइदिने तर त्यसका लागि आफूसँग यौन सम्बन्ध बनाउनुपर्ने प्रस्ताव गरेको पाइएको थियो । पीडित महिलाले लोकपथलाई उपलब्ध गराएको अडियोमा रसुवाका जिल्ला न्यायाधिवक्ता रहेका थापाले पीडित महिलासँग यौन प्रस्ताव राखेको पाइएको थियो ।

यौन प्रस्ताव बाहेक पनि जिल्ला न्यायाधिवक्ता थापाले ती झगडिया महिलासँग मोबाइल फोन र केही रकमसमेत लिएको आरोप लागेको थियो ।
सोही सम्बन्धमा लोकपथले समाचार सम्प्रेषण गरेपछि रसुवाका जिल्ला न्यायाधिवक्ता विमल थापालाई महान्यायाधिवक्ता कार्यालयले काठमाडौं तानी छानबिन गरेको थियो ।
यो पनि …
प्रतिवादी महिलासँग सरकारी वकिलको यौन प्रस्ताव : ‘मेरो माग पूरा भए मुद्दा जिताइदिन्छु’
छानबिनपछि महान्यायाधिवक्ता कार्यालयले गत साउन १३ गते निर्णय गर्दै न्यायाधिवक्ता थापालाई सचेत मात्रै गराएर उन्मुक्ति दिएको पाइएको छ ।
करिब २ महिना चलेको छानबिनपछि महान्यायाधिवक्ता कार्यालयले थापालाई निजामती सेवा ऐन, २०४९ को दफा ५५क बमोजिम ‘चेतावनी’ दिएर उन्मुक्ति दिएको हो ।

निजामती सेवा ऐनको दफा ५५को ‘क’मा ‘कुनै निजामती कर्मचारीले समय पालना नगरेमा, सरकारी कामसम्बन्धी कुरामा आफूभन्दा माथिको कर्मचारीले दिएको आज्ञा पालना नगरेमा वा कार्यालयसम्बन्धी काममा लापरबाही वा ढिलासुस्ती गरेमा त्यस्तो कर्मचारीलाई सम्बन्धित सुपरिवेक्षकले कारण खोली चेतावनी दिन सक्नेछ र सोको अभिलेख सम्बन्धित कर्मचारीको व्यक्तिगत विवरण फाइलमा राख्नुपर्नेछ’ भन्ने कुरा उल्लेख गरिएको छ ।
यस्तो चेतावनीले कर्मचारीको आचरण वा कारबाहीको सम्बन्धमा जानकारी हुने र पुनः अर्को पटक दोहोरिए कारबाही हुने भए पनि यसले कर्मचारीको बढुवा, ग्रेड रोक्का आदिमा भने कुनै असर गर्दैन । यस्तो चेतावनी केवल औपचारिकता मात्रै हुन्छ ।
यद्यपि महान्यायाधिवक्ता कार्यालयले थापालाई रसुवाको जिल्ला सरकारी वकिलको कार्यालयको प्रमुखबाट हटाएर महान्यायाधिवक्ता कार्यालयको पुनरावेदन शाखामा अन्य काम गर्ने गरी खटाइएको छ, जुन सामान्य कारबाही भने हो ।
जिल्ला सरकारी वकिल कार्यालय रसुवाका कार्यालय प्रमुख विमल थापाले बहुविवाह कसुरको मुद्दामा एक महिलासँग मोबाइल र कम लिएको तथा मुद्दा जिताउने गरी सहजीकरण गर्न यौन प्रस्ताव राखेको समाचार प्रकाशन गरेको थियो ।
थापाले महिलासँग गरेको संवादको अडियो प्रति लोकपथसँग सुरक्षित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया