काठमाडौं । नेकपा (एमाले) की सांसद शारदादेवी भट्टले हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको उद्धारका लागि सरकारले कुटनीतिक पहल गर्न आवश्यक रहेको बताएकी छन् ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै सांसद भट्टले नेपाली विद्यार्थी जोशी दुई वर्षदेखि बन्धक बनेको भए पनि उनको अवस्थाबारे जानकारी नपाउनु दुःखद भएको बताइन् ।
उनले सरकारले विपिनको उद्धारप्रति बेवास्ता गरेको आरोप लगाउँदै, उनको परिवारले भोगिरहेको पीडा राज्यको लापरबाहीको परिणाम भएको र यसतर्फ तत्काल ध्यान दिनुपर्ने बताइन् ।
सांसद भट्टले भनिन्, ‘जोशीको आमा र बहिनी विदेशी भूमिमा गएर सबैको खुट्टा समाउँदै रुँदै हिँडिरहेका छन् । राज्य जनताको अभिभावक हो भने उनको रिहाइका लागि कुटनीतिक पहल गर्न सरकारसँग जोडदार माग गर्दछु ।’
विपिन जोशी इजरायल–हमास युद्धका क्रममा २०८० असोजमा अपहरणमा परेका थिए । अहिलेसम्म उनको अवस्था अज्ञात रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया