भारतले नेपाली सेनालाई दियो ६ थान ‘स्ट्राइकिङ भेइकल’, केही घोडा समेत उपहार

लोकपथ
1.4k
Shares

काठमाडौं । मित्र राष्ट्र भारतले नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकलसहित केही उपहार दिएको छ ।

दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकलसहित ५ वटा सैनिक घोडा समेत उपहार दिएका हुन् ।

मिश्री आज सैनिक मुख्यालय जंगिअड्डा पुगेका थिए । केही समयअघिदेखि नै उक्त सामग्री हस्तान्तरण गर्ने तयारी रहेको थियो । तर विदेशसचिव आएको बेलामा उनैले सो सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

सो क्रममा मिश्रीले २ वटा कुकुर समेत हस्तान्तरण गरेका छन् । साथै मिश्रीले केही स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेका हुन् । साथै मिश्रीले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता समेत गरेका छन् ।

मिश्रीको आज दिउँसो २ बजे स्वदेश फर्किने कार्यतालिका रहेको छ । आइतबार बिहान नेपाल आइपुगेका मिश्रीले प्रधानमन्त्री, राष्ट्रपतिदेखि राजनीतिक दलका शीर्ष नेताहरुसँग समेत भेटघाट गरिसकेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा लिएर मिश्री नेपाल आएका थिए । हिजो नै मिश्रीले मोदीले पठाएको प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए । लामो समयदेखि रोकिएको प्रधानमन्त्री ओलीको भारत भ्रमण समेत निश्चित बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?