विपिन जोशीको सुरक्षित रिहाइ सरकारको शीर्ष प्राथमिकता : प्रधानमन्त्री ओली

लोकपथ
840
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहले बन्धक बनाएर राखेका नेपाली नागरिक विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि नेपाल सरकारले उच्च प्राथमिकताका साथ पहल गरिरहेको बताएका छन् ।

आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले विपिनको रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको जानकारी दिएका छन् । उनले भने, सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको छ ।’

प्रधानमन्त्री ओलीले विपिनका परिवारको साथमा नेपाल सरकार रहेको समेत बताए । इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेटेर विपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नुभएको छ,’ प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

उनले यसअघि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान (चैत ७ गते) र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिल (फागुन २८ गते) सँग पनि फोनमार्फत कुरा गरी यो विषयमा ध्यानाकर्षण गराएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले विपिनको रिहाइका लागि इजरायलमा सहयोग गरिरहेका नेपाली समुदाय, स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी तथा सामाजिक अभियन्ताप्रति विशेष धन्यवादसमेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?