बागमती प्रदेशको व्यवसायजन्य सुरक्षामा बरुण वेभरेज उत्कृष्ट

लोकपथ
49
Shares

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा रहेको बरुण वेभरेज व्यवसायजन्य सुरक्षामा बागमती प्रदेशमा उत्कृष्ट बनेको छ । व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानबाट बागमती प्रदेशको अवार्ड बरुण वेभरेजले पाएको हो ।

पेप्सी नामले परिचित बरुण वेभरेजले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा उत्कृष्ट अभ्यास गरेको भन्दै शुक्रबार सम्मान गरिएको हो । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बागमती प्रदेशको उत्कृष्ट व्यवसायजन्य सुरक्षा प्रदान गर्ने बरुण वेभरेजलाई सम्मान गरेको हो ।

व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा उत्कृष्ट अभ्यास गर्ने सातै प्रदेशका प्रतिष्ठानलाई सम्मान गर्ने क्रममा बागमती प्रदेशबाट बरुण वेभरेज उत्कृष्ट प्रतिष्ठान छनोट भएको हो ।

उत्कृष्ट हुने अन्य प्रतिष्ठानहरुमा कोसी प्रदेशबाट बुट्टाबारी टि प्रालि झापा, मधेस प्रदेशबाट डाबर नेपाल प्रालि, बारा, गण्डकी प्रदेशबाट गोर्खा ब्रुअरी प्रालि नवलपरासी, लुम्बिनी प्रदेशबाट विजय डिस्टिलरी नवलपरासी, कर्णाली प्रदेशबाट शुभ होटेल प्रालि र सुदूरपश्चिम प्रदेशबाट महाकाली सुगर प्रालि रहेका छन् ।

सम्मान वितरण गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले कुनै पनि प्रतिष्ठानको सफलताको मुख्य सूचक भनेको त्यहाँको व्यावसायिक स्वास्थ्य र सुरक्षाको अवस्था रहेको बताए । सरकारले व्यवसायजन्य रोगहरूको सूची तयार पारेको भन्दै त्यस क्षेत्रमा कानुनी तथा नीतिगत सुधारहरू गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

मन्त्री भण्डारीले सम्मानित प्रतिष्ठानहरूले झैँ अन्य प्रतिष्ठानहरूले अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डअनुसार काम गर्न सके नेपाललाई व्यावसायिक स्वास्थ्य र सुरक्षाको क्षेत्रमा नमुना देश बनाउन सकिने विश्वास व्यक्त गरे ।

श्रम सचिव डा. कृष्णहरी पुस्करले व्यावसायिक सुरक्षा र स्वास्थ्यले श्रमिकको हित र प्रतिष्ठानको उत्पादकत्व बढाउने भन्दै प्रशंसा गरे । सम्मानलाई प्रतिस्पर्धा नभई उत्कृष्ट कामको पहिचान भएको स्पष्ट पारे । साथै अन्य प्रतिष्ठानका लागि यो एक उदाहरणका रूपमा प्रस्तुत हुने बताए ।

सचिव पुस्करले व्यावसायिक सुरक्षा र स्वास्थ्यले श्रमिकको हित मात्र नभई प्रतिष्ठानको उत्पादकत्व पनि बढाउने कुरामा जोड दिए । यस क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको स्वीकार गर्दै सबैको सहकार्यबाट कमी कमजोरी सुधार गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?