काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले लामो समयदेखि दुर्गममा खटिएका कर्मचारीलाई न्याय हुने गरी सुगम क्षेत्रमा ल्याउने तयारी भइरहेको बताएकी छन् ।
मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले दुर्गममा निरन्तर सेवा दिइरहेका कर्मचारीलाई सुगममा ल्याउने र सुगममा मात्र बस्न खोज्नेहरुलाई दुर्गममा पठाउने व्यवस्था मिलाइने स्पष्ट पारिन्।
‘सरुवामा असमानता छ, कोही सधैँ दुर्गममा मात्रै बस्ने, कोही सधैँ सुगममै बस्ने अवस्था अब सह्य हुँदैन,’ मन्त्री न्यौपानेले भनिन्, ‘दुर्गम जान नमान्नेहरुको आर्थिक अधिकार कटौती गरेर समेत कारबाही अघि बढाइरहेका छौँ ।’
उनले लामो समयदेखि भ्याली छाड्न नचाहने र दुर्गममा जान नमानेका कर्मचारीको नाम संकलन भइरहेको जानकारी दिँदै ती नाम सार्वजनिक गर्ने चेतावनी समेत दिइन् ।
मन्त्री न्यौपानेका अनुसार प्रमुख प्रशासकीय अधिकृत धेरै स्थानीय तहमा निमित्तमार्फत मात्र काम गर्दै आएका छन् । उनले भदौ महिनाभित्र सबै पालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाउने गरी गृहकार्य भइरहेको जानकारी दिइन् ।
राष्ट्रसेवक कर्मचारीले सेवामा समर्पित भएर काम गर्नुपर्ने बताउँदै मन्त्री न्यौपानेले ‘कुनै काम नगरी तलव खाने प्रवृत्ति अन्त्य हुन्छ’ भनेर चेतावनी दिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया