उद्योगीहरूको विद्युत नकाटी बक्यौताहरू असुल्नुपर्छ : मन्त्री खड्का

लोकपथ
231
Shares

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले लोडसेडिङको समयमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत प्रयोग भएको विद्युत् प्रिमियम बक्यौता असुल गर्नुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारेका छन् ।

आइतबार नेपाल विद्युत प्राधिकरणको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले उद्योगी–व्यवसायीको लाइन नकटाई टिओडी मिटरका आधारमा बक्यौता असुल गर्नुपर्ने बताए । तर अर्थ मन्त्रालय मातहत रहेका बक्यौताहरू भने मिनाहा वा घटाउन सकिने उनको भनाइ छ ।

मन्त्री खड्काले भने, ‘भोलि पनि उद्योगधन्दालाई हामीले उत्पादन गरेको बिजुली बेच्नुपर्छ । त्यसैले घाँटी काटेर बक्यौता असुल गर्ने कुरा स्वीकार्य छैन । तर जसले जति उपयोग गरेका छन्, त्यसको रकम तिर्नैपर्छ । दर–रेट, टिओडी मिटर र आधार सबै छन् । नागरिकले पनि बिल अनुसार पैसा तिरेको छ, त्यसैले उद्योगीहरूले किन नतिर्ने ?

उनका अनुसार लामो समयसम्म बिल नै नदिने प्राधिकरणका कर्मचारीप्रति पनि कारबाहीको प्रश्न उठ्छ । ‘तलब खाँदा पाप नलाग्ने, तर बिल सही छ कि छैन भनेर चेक गर्दा पाप लाग्छ ?’ भन्दै उनले कर्मचारीलाई अनुशासित र जिम्मेवार ढंगले काम गर्न निर्देशन दिए ।

मन्त्री खड्काले आफू पदमा आएदेखि विद्युत् बक्यौता असुलीमा प्राथमिकता दिएको उल्लेख गर्दै लाल आयोगले थन्क्याइएको प्रतिवेदन सार्वजनिक गरेको पनि स्मरण गराए । बक्यौता असुलीका लागि मन्त्रालयले समिति गठन गरेको बताउँदै उनले अदालतलाई प्रभावित पार्ने नियतले समिति बनाइएको आरोप अस्वीकार गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफूले राम्ररी चिनेको भन्दै खड्काले, ‘बक्यौता असुल गर्न खोज्दा अवरोध गर्न खोजिएको छ । तर केवल अख्तियारलाई चिठी पठाएको आधारमा म चुप लाग्दिनँ, ‘भन्दै चेतावनी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?