काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी वर्षदेखि बैंक नोट बाहेकका सबै छपाइ कार्य सुरक्षण मुद्रण केन्द्रमार्फत हुने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले हुलाक टिकट, स्मार्ट कार्ड, ईमिग्रेशन डकुमेन्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी लगायतका सबै छपाइ अबदेखि सुरक्षण मुद्रण केन्द्रमार्फत हुने स्पष्ट पारे । हाल २८ लाख ड्राईभिङ स्मार्ट कार्ड छाप्ने काम भइरहेको र यस वर्ष छाप्नुपर्ने ६४ लाख राहदानी भने बाहिरी कम्पनीलाई दिइएको जानकारी उनले दिए ।
उनका अनुसार परराष्ट्र मन्त्रालयसँग समन्वयको अभावले गर्दा राहदानी छपाइ बाहिरी संस्थाबाट भइरहेको भए पनि आगामी वर्षदेखि सम्पूर्ण छपाइ सुरक्षण मुद्रण केन्द्रमार्फत हुनेछ । ‘बैंक नोट छाप्न भने छुट्टै मेसिन ल्याउनुपर्ने भएकाले त्यसको प्रक्रिया पनि सुरु भएको छ,‘उनले भने ।
मन्त्री गुरुङले यसलाई नेपालको लागि ठूलो उपलब्धि (माइलस्टोन) को रूपमा लिँदै सुरक्षण मुद्रण केन्द्र सञ्चालनले मुलुक आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरे ।
त्यस्तै उनले नेपालमा फाइभजी सेवा सञ्चालनको तयारी पनि तीव्र गतिमा भइरहेको बताए । प्रधानमन्त्रीसँगको कार्यसम्पादन सम्झौता अनुसार माघ महिनाभित्र काठमाडौं र पोखरामा फाइभजी सेवा सुरु हुने र आगामी वर्ष सबै महानगरमा विस्तार गरिने जानकारी उनले दिए । क्रमशः देशभर फाइभजी सेवा विस्तार गर्ने योजना अघि बढाइएका उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया