गोरखा । गोरखामा निजी लगानीमा निर्माण भएको अत्याधुनिक सुविधासम्पन्न एनपीआइ गोरखा अस्पताल आइतबार सेवा सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अस्पतालको उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले गोरखामा सय शैय्याको अस्पताल बनेपछि स्थानीय जनताले चितवन, पोखरा वा काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको बताए । ठूलो लगानीमा पहाडी जिल्लामा अस्पताल सञ्चालन गरेकोमा चितवन र गोरखाका व्यवसायीहरूलाई धन्यवाद दिंदै उनले निजी क्षेत्रमा लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार रहेको र स्वास्थ्य सेवा सबै जनताको पहुँचमा पुग्नुपर्नेमा जोड दिए । उनले गण्डकी प्रदेश स्वास्थ्यको हब बन्ने चरणमा रहेको उल्लेख गर्दै युवा जनशक्तिलाई देशमै काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।
चितवन र गोरखाका व्यवसायीहरूको सहकार्यमा ५५ करोड रुपैयाँको लागतमा निर्माण भएको अस्पतालको काम २०७७ साल माघ ५ गते सुरु भएको थियो । भवन निर्माण गत वर्षै सम्पन्न भए पनि प्रमाणपत्र पाउने प्रक्रियाका कारण सञ्चालनमा ढिलाइ भएको थियो ।
९ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा बहिरंग, अन्तरंग र छुट्टाछुट्टै क्याबिन निर्माण गरिएको छ । गोरखामा पहिलो पटक अस्पतालले सिटी स्क्यान मेशिन जडान गरेको छ । प्रारम्भिक चरणमा अस्पतालले फिजिसियन, हाडजोर्नी, बालरोग, स्त्रीरोग, सर्जरी, रेडियोलोजिस्ट र एनेस्थेसियोलोजिस्ट सेवा उपलब्ध गराउनेछ । साथै, नाक, कान, घाँटी, छालारोग, नशा तथा मानसिक रोगसम्बन्धी चिकित्सक सेवा पनि उपलब्ध हुने अस्पतालका प्रवन्ध निर्देशक पुष्पराज धितालले जानकारी दिए ।
अस्पतालले आफ्नै फार्मेसी पनि सञ्चालन गर्दै आएको छ । सेवा शुभारम्भको अवसरमा आइतबार ओपिडी निःशुल्क उपलब्ध गराइनेछ भने सबै उपचारमा ५० प्रतिशत छुट लागू गरिने छ । भदौ २ र ३ गते अस्पतालमा उपचारका लागि आउने बिरामीले २५ प्रतिशत छुट पाउनेछन् ।
यो अस्पतालले गोरखा बाहेक लमजुङ, तनहुँ र धादिङ जिल्लाका बिरामीलाई पनि सहज स्वास्थ्य सेवा प्रदान गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया