काठमाडौं । सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा नाफा कमाएको छ ।
सिद्धार्थले आर्थिक वर्ष ०८१–०८२ को चौँथो त्रैमासमा ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ६३ प्रतिशतले नाफा वृद्धि गरेको हो ।
त्यसो त गत आर्थिक वर्ष यसै अवधिमा कम्पनीले ६८ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो । यता कम्पनीको प्रतिशेयर आम्दानी समेत बढेको छ । कम्पनीका अनुसार अघिल्लो वर्ष प्रतिशेयर आम्दानी २४ रुपैयाँ ५२ पैसा रहेकोमा अहिले बढेर २५ रुपैयाँ ४१ पैसा पुगेको हो ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बीमा कोष पनि १६ दशमलव ०२ बाट वृद्धि भइ ५ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । तर लगानी भने ३ दशमलव २७ प्रतिशतले घटेर ९ अर्ब रुपैयाँमा सीमित भएको छ । त्यस्तै चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँमै यथावत् छ, र सोल्भेन्सी अनुपात ३.१८ रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै समीक्षा अवधिमा खुद प्रिमियम आम्दानी ११ दशमलव ५८ प्रतिशतले बढेर २ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । तर, लगानी, ऋण तथा अन्य स्रोतबाट प्राप्त आम्दानी ३५ दशमलव १८ प्रतिशतले घटेर ४७ करोड ५९ लाख रुपैयाँमा सीमित भएको कम्पनीले जनाएको छ । खुद दाबी भुक्तानी भने ५ दशमलव २९ प्रतिशतले घटेर १ अर्ब १३ करोड रुपैयाँमा झरेको छ ।
तर सो अवधिमा नाफामा वृद्धि भए पनि खुद नाफा भने घटेको छ । कम्पनीका अनुसार खुद बाँकी नाफा १३.२१ प्रतिशतले घटेर ९५ करोड ५१ लाख रुपैयाँमा झरेको हो । यता प्रतिशेयर नेटवर्थ अघिल्लो वर्षको २७६ रुपैयाँ ६३ पैसाबाट घटेर २७४ रुपैयाँ ५६ पैसामा सीमित भएको कम्पनीले जनाएको छ ।
कुनै पनि कम्पनीको नाफामा वृद्धि हुनु कम्पनीको अन्डरराइटिङ प्रदर्शनको सुधारको संकेतको रुपमा लिइन्छ । तर लगानी आम्दानीमा गिरावट आउँदा भविष्यमा चुनौती सिर्जना हुनसक्ने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया