काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा यो नाफामा ३७.३२ प्रतिशतको गिरावट आएको प्राधिकरणले जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले १० अर्ब ५३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । कुलमान घिसिङको नेतृत्वमा प्राधिकरणले निरन्तर नाफा देखाइरहेको बेला, उनका बर्खास्तपछि नाफामा ओरालो आएको विश्लेषकहरूको दाबी छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, विदेशी मुद्रा जापानी येनमा भएको अधिमूल्यन, प्रशासनिक खर्चमा वृद्धि र औसत विद्युत विक्री मूल्यमा कमी जस्ता कारणले नाफामा कमी आएको हो । उनले आगामी वर्षमा नाफा वृद्धि हुने दाबी पनि गरे ।
शाक्यका अनुसार, आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म प्राधिकरणको कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड र कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड पुगेको थियो ।
यसै अवधिमा राष्ट्रिय विद्युत प्रणालीमा जडित कुल क्षमता ३५९१ मेगावाट पुगेको छ । प्रणालीमा उपलब्ध १५ हजार ६४१ गिगावाट घण्टामा प्राधिकरण तथा सहायक कम्पनीहरूको योगदान ३४ प्रतिशत, स्वतन्त्र विद्युत उत्पादकहरूको योगदान ५५ प्रतिशत र भारतबाट आयातित विद्युत ११ प्रतिशत रहेको छ ।
नेपालको आन्तरिक विद्युत खपत १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावाट घण्टा पुगेको छ । विद्युत चुहावट ०.४७ प्रतिशतले घटेको छ भने राष्ट्रिय ग्रेड पहुँच करिब ९८ प्रतिशत पुगेको छ ।
अर्थात्, आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको छ । सो अवधिमा प्रणालीमा कुल ४३४ मेगावाट नयाँ विद्युत उत्पादन क्षमता थपिएको छ, जसमा सहायक कम्पनीहरूको योगदान १५३.५ मेगावाट र स्वतन्त्र उत्पादकहरूको २९०.५ मेगावाट रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया