स्वास्थ्यमन्त्री पौडेलको जिकिर : ‘अंग प्रत्यारोपण कानुन खुकुलो बनाउँदा विकृति बढ्छ’

लोकपथ
168
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अंगहरु प्रत्यारोपणसम्बन्धी कानुनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने बताएका छन् । 

आइतबार ललितपुरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको ग्लोबल मेगा रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै उनले मानव अंगहरु प्रत्यारोपणसम्बन्धी कानुनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने भएकाले खुकुलो बनाउन नसकिने बताएका हुन् । 

उनले नेपालमा मिर्गौला, आँखालगायतका प्रत्यारोपण गर्न मिल्ने ६ वटा मानव अंगहरु पर्याप्त मात्रामा प्राप्त हुने स्थिति नरहेको बताए । उनले यदि मानव अंग प्रत्यारोपणका लागि सहजै एकले अर्कोलाई दिन मिल्ने कानुन बनाउने हो भने यसले विकृति भित्र्याउने बताए । 

उनले मान्छेको ब्रेन मरिसकेपछि मृत्यु भएको २४ घण्टाभित्र मानव अंगहरु झिकेर अर्को आवश्यक पर्ने व्यक्तिमा प्रत्यारोपण गर्न सकिने गरी इरानमा प्रयोग भइरहेको बताए । 

स्वास्थ्य मन्त्री पौडेलले भने, ‘हामी कहाँ जति किड्नी चाहिने हो त्यति प्राप्त भएको स्थिति छैन । जति लिभर चाहिने हो त्यति प्राप्त भएको स्थिति छैन । जति आँखा चाहिने हो त्यो प्राप्त भएको छैन । शरीरका ६ वटा अंग झिकेर अर्कोमा ट्रान्सप्लान्ट गर्न मिल्छ । अब यो ट्रान्सप्लान्ट जसबाट निकालेर पनि गर्न मिल्ने बनाउन मिल्दैन । किनभने यो बेचिन्छ । अहिले आईभीएफको एउटा समस्याका कारणले यो बेचिएको छ भनेर भन्न थालिएको छ । भारतमा सन १९८२ सम्म एकले अर्कालाई अंगहरु सजिलै दिन पाउने व्यवस्था थियो । त्यहाँ धेरै गरिबहरूले अंग बेचे । फेरि त्यसलाई बन्द गरियो । नेपालमा पनि नाता पर्नेहरू, नाताको दायरा पनि एकदमै सीमित छ । कानुन खुकुलो बनाऊँ यसले बेथिति बढाउँछ, अब एउटा उपाय के छ भने इरानमा यसको सफल प्रयोग भइरहेको छ । पहिला मान्छेको ब्रेन मर्छ, ब्रेन मरेको २४ घण्टाभित्र उसको अंग झिक्न खोज्यो भने झिक्न सकिन्छ । ब्रेन डेथपछि अंग झिकेर त्यसलाई त्यहीअनुसार संग्रह गर्ने हो भने हामीले त्यो अंग अर्को किड्नी फेल भएकोलाई दिन सकिन्छ । आँखा नदेख्नेलाई आँखा दिन सकिन्छ ।’

स्वास्थ्य मन्त्री पौडेलले एउटाले अर्काको सहयोग गर्नु नै मानव धर्म भएको बताए । संस्कारयुक्त संस्कृतिको विकास गर्न जरुरी रहेको उनले बताए । धनी मानिस सुखी नहुने भन्दै स्वस्थ मानिस मात्रै सुखी हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?