आईभीएफ सेवा नियमन गर्न स्वास्थ्य मन्त्रालयले ल्यायो कडा मापदण्ड, के के छन् व्यवस्था ?

लोकपथ
126
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान उपचार (आईभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२’ स्वीकृत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उक्त मापदण्ड स्वीकृत गरेका हुन् ।

मन्त्री पौडेलको अग्रसरतामा मन्त्रालयले सम्बन्धित क्षेत्रका सरोकारवाला विज्ञहरूसँगको गहन छलफलपछि यो मापदण्ड तयार पारेको हो । यो मापदण्ड स्वीकृत भएसँगै नेपालमा पहिलोपटक ‘निःसन्तान उपचार (आईभीएफ)’ सेवा र यसका लागि आवश्यक प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा संवेदनशील मानिएको शुक्रकीट तथा अण्डा दान (डोनर) प्रक्रिया थप व्यवस्थित हुनेछ ।

निःसन्तान उपचार केन्द्रहरूको कानुनी आधारमा प्रभावकारी नियमन गर्ने, निःसन्तान उपचार सेवामा एकरूपता ल्याउने, न्यूनतम भौतिक पूर्वाधार, जनशक्ति र प्रयोगशालाको स्तर तोक्ने, सेवा शुल्कलाई पारदर्शी बनाउने तथा सेवाग्राही र दाताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले यो मापदण्ड जारी गरेको मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले बताए । 

‘निःसन्तानपन एक संवेदनशील स्वास्थ्य समस्या मात्र नभएर गहिरो सामाजिक र मनोवैज्ञानिक विषय पनि हो । यस मापदण्डले निःसन्तान उपचार सेवालाई थप सुरक्षित, पारदर्शी र अन्तर्राष्ट्रियस्तरको बनाउन लागि एक कोशेढुंगाको रूपमा काम गर्ने छ,’ डा. शर्माले भने, ‘यस मापदण्ड बमोजिम सेवा प्रदायकलाई पूर्ण जिम्मेवार बनाइने छ र तोकिएको मापदण्ड पालना नगर्ने जो सुकैलाई कडा कानुनी दायरामा ल्याइनेछ ।’

यसैगरी मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रजनन स्वास्थ्यको क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन यस मापदण्डले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । ‘पछिल्लो समय निःसन्तानपनको समस्या बढ्दो छ, तर यसको उपचार दिने संस्थाहरूको गुणस्तर र प्रक्रियामा थुप्रै प्रश्न उठिरहेका थिए । धेरै दम्पतीहरू ठगिन सक्ने र गुणस्तरीय सेवा नपाउँदा उनीहरूको जीवनसमेत  जोखिममा पर्न सक्ने खतरा थियो,’ प्रवक्ता डा. बुढाथोकीले भने, ‘यो मापदण्डले सेवालाई सुरक्षित र विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’

आईयूआई र आईभीएफ जस्ता विशिष्ट सेवा सञ्चालन गर्न अनिवार्य रूपमा अनुमति लिनुपर्ने 

मापदण्डमा आईयूआई र आईभीएफ जस्ता विशिष्ट सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । प्रत्येक अनुमति प्राप्त केन्द्रमा निःसन्तान रोग विशेषज्ञ, तालिम प्राप्त इम्ब्रायोलोजिष्ट र एनेस्थेसियोलोजिष्ट लगायतका दक्ष जनशक्ति अनिवार्य हुनुपर्नेछ । पूर्वाधारतर्फ राष्ट्रिय भवन संहिता बमोजिमको भवन, विशिष्टीकृत एन्ड्रोलोजी तथा इम्ब्रायोलोजी प्रयोगशाला, शल्यक्रिया कक्ष र आकस्मिक सघन उपचार कक्ष लगायतको व्यवस्था हुनुपर्ने मापदण्ड तोकिएको छ ।

भु्रणको विकासमा प्रत्यक्ष असर पार्ने प्रयोगशाला र शल्यक्रिया कक्षको वातावरणीय गुणस्तरका लागि प्राविधिक मापदण्ड तोकिएको छ । ती कक्षहरूको तापक्रम, सापेक्षिक आर्द्रता र हावाको गुणस्तर तोकिएको स्तरअनुरूप हुनुपर्ने छ । सेवा शुल्क मन्त्रालयले निर्धारण गरेबमोजिम मात्र लिन पाइनेछ भने प्रत्येक संस्थाले १० प्रतिशत सेवा गरिब तथा विपन्न वर्गलाई निःशुल्क उपलब्ध गराउनुपर्नेछ । सेवाको गुणस्तर, जनशक्ति र उपकरणको अवस्थाबारे मन्त्रालयको समितिले नियमित अनुगमन गर्ने र मापदण्ड पालना नगर्ने संस्थाको अनुमति खारेज गर्न सक्ने व्यवस्था गरिएको छ ।

शुक्रकीट वा अण्डा दान गर्ने दाताका लागि समेत स्पष्ट मापदण्ड

शुक्रकीट वा अण्डा दान गर्ने दाताका लागि समेत स्पष्ट मापदण्ड तोकिएको छ । दाताको उमेर २० देखि ३५ वर्षको बीचमा हुनुपर्ने, कुनै पनि सरुवा रोग नभएको स्वास्थ्य परीक्षणबाट प्रमाणित हुनुपर्ने र विवाहितको हकमा दम्पतीको लिखित मन्जुरी जस्ता विषयलाई अनिवार्य गरिएको छ । एक व्यक्तिले दान गर्न पाउने पटकको संख्या सीमित गरिएको छ र दाताको पहिचान पूर्ण रूपमा गोप्य राख्नुपर्नेछ । साथै, कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी वा दबाबमा राखी दान गराउन पूर्ण रूपमा निषेध गरिएको छ ।

यस्तै, सेवा सञ्चालन प्रक्रिया तथा मापदण्डअनुसार स्वास्थ्य संस्थाको स्तर, भौतिक पूर्वाधार र जनशक्तिको आधारमा प्रदान गरिने निःसन्तान व्यवस्थापन सम्बन्धी सेवाहरूलाई पाँच श्रेणीमा वर्गीकरण गरिएको छ । पहिलो श्रेणीमा सबै स्वास्थ्य संस्थाले प्रदान गर्न सक्ने स्क्रिनिङ, निदान, परामर्श र प्रेषण जस्ता आधारभूत सेवाहरू पर्दछन् । दोस्रो र तेस्रो श्रेणीमा तालिम प्राप्त स्त्रीरोग विशेषज्ञबाट प्रदान गरिने क्रमशः औषधि तथा हर्मोनल उपचार र शल्यक्रिया सेवाहरू पर्दछन् । चौथो र पाँचौँ श्रेणीमा विशेष मापदण्ड पूरा गरेका संस्थाहरूले मात्र सञ्चालन गर्न पाउने क्रमशः आईयुआई र आईभीएफ जस्ता विशिष्ट सेवाहरू रहेका छन् । आईभीएफ सेवा प्रदान गर्ने संस्थाले अन्य सबै तहका सेवाहरू पनि उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ ।

आईयुआई सेवा सञ्चालन गर्न चाहने स्वास्थ्य संस्थालाई तोकिएका मापदण्डहरू 

यस्तै, आईयुआई सेवा सञ्चालन गर्न चाहने स्वास्थ्य संस्थाले तोकिएका निश्चित मापदण्डहरू पूरा गर्नुपर्नेछ । संस्थामा प्रसूति तथा स्त्रीरोगसम्बन्धी बहिरंग सेवा, एन्ड्रोलोजी प्रयोगशाला, कोल्ड चेन प्रणाली, फार्मेसी, आकस्मिक उपचार सेवा र न्यूनतम ’सी’ वर्गको प्रयोगशाला अनिवार्य रूपमा हुनुपर्छ । यदि संस्थामा सघन उपचार कक्ष उपलब्ध छैन भने आवश्यक परेमा यो सेवा प्रदान गर्न सक्ने अर्को स्वास्थ्य संस्थासँग सम्झौता गरेको हुनुपर्नेछ ।

आईयुआई सेवा सञ्चालनका लागि आवश्यक न्यूनतम मापदण्डहरूमा परामर्श कक्ष, वीर्य संकलन कक्ष, एन्ड्रोलोजी प्रयोगशाला  र आईयुआई कक्ष जस्ता भौतिक पूर्वाधारहरूको क्षेत्रफलसहितको विवरण, अल्ट्रासोनोग्राफी मेसिन, लाइट माइक्रोस्कोप, थर्मो–रेगुलेटेड सेन्ट्रिफ्युज, र ल्यामिनार फ्लो जस्ता आवश्यक औजार–उपकरणहरूको सूची र आवश्यक पर्ने सामग्री मापदण्डमा तोकिएको छ । साथै, यो सेवा सञ्चालन गर्न सम्बन्धित संस्थामा कम्तीमा एक जना तालिम प्राप्त प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, एक मेडिकल ल्याब टेक्नोलोजिष्ट, एक टेक्निसियन र एक स्टाफ नर्ससहितको जनशक्ति अनिवार्य हुनुपर्ने छ ।

आईभीएफ सेवा प्रदान गर्ने संस्थामा आईयुआई सेवाका लागि चाहिने सबै पूर्वाधारका अतिरिक्त इम्ब्रायोलोजी प्रयोगशाला, आकस्मिक सेवा, सघन उपचार कक्ष र शल्यक्रिया सेवा अनिवार्य रूपमा हुनुपर्दछ । यदि संस्थामा आकस्मिक र सघन उपचार कक्ष छैन भने काठमाडौं उपत्यकाभित्र २ किलोमिटर र बाहिर आधा घण्टाको दूरीमा रहेको विशेषज्ञ अस्पतालसँग सम्झौता गरेको हुनुपर्नेछ । 

यस्तै, आईभीएफ सेवा सञ्चालनका लागि आवश्यक मापदण्डहरूमा आईयुआईका लागि चाहिने पूर्वाधारका अतिरिक्त शल्यक्रिया कक्ष, रिकभरी कोठा  र इम्ब्रायोलोजी प्रयोगशाला जस्ता थप भौतिक संरचनाहरू अनिवार्य हुनुपर्ने छ । औजार–उपकरणतर्फ आईभीएफ वर्क स्टेसन, क्रायो–ट्याङ्क र माइक्रो–म्यानुपुलेटरसहितको इन्भर्टेड माइक्रोस्कोप जस्ता अति विशिष्ट उपकरणहरू हुनुपर्ने छ । जनशक्तिको हकमा निःसन्तान रोग विशेषज्ञ, इम्ब्रायोलोजिष्ट, एनेस्थेसियोलोजिष्ट र विशेषज्ञ नर्स जस्ता विशेष योग्यता र अनुभव भएका जनशक्ति अनिवार्य हुनुपर्ने छ । 

यी विशिष्ट सेवाहरूको गुणस्तर सुनिश्चित गर्न विभिन्न प्राविधिक मापदण्डहरू तोकिएका छन् । यसअनुसार, वीर्य संकलन कक्ष, एन्ड्रोलोजी प्रयोगशाला र आईयुआई कक्ष एक–आपसमा जोडिएको हुनुपर्छ । त्यसैगरी, शल्यक्रिया कक्ष र इम्ब्रायोलोजी प्रयोगशाला पनि सँगै जोडिएको र बीचमा ’पास बक्स’ भएको हुनुपर्छ । यी कक्षहरूमा सूर्यको प्रकाश नछिर्ने, वातानुकूलित र असम्बन्धित व्यक्तिहरूको प्रवेश निषेध गरिएको हुनुपर्छ । साथै, संस्थाले फोहोरमैला व्यवस्थापन, पार्किङ, शुद्ध खानेपानी  र अविच्छिन्न विद्युत् आपूर्ति जस्ता सुविधाहरूको पनि सुनिश्चितता गर्नुपर्नेछ ।

भ्रूणको विकास र सफलता दरमा प्रत्यक्ष असर पार्ने इम्ब्रायोलोजी प्रयोगशाला र शल्यक्रिया कक्षको वातावरणीय गुणस्तर सम्बन्धी प्राविधिक मापदण्डहरू। संवेदनशील मानिने तापक्रम, सापेक्षिक आर्द्रता, हावाको गुणस्तर (धुलोका कण र हानिकारक वाष्पशील जैविक यौगिकको मात्रा) र प्रति घण्टा हावा परिवर्तनको दर जस्ता पक्षहरू मापदण्डमा तोकिएको छ ।

गैरसरकारी वा निजी स्वास्थ्य संस्थाले मन्त्रालय वा तोकिएको निकायबाट अनुमति नलिई आईयुआई वा आईभीएफ सेवा सञ्चालन गर्न नपाउने 

कुनै पनि गैरसरकारी वा निजी स्वास्थ्य संस्थाले मन्त्रालय वा तोकिएको निकायबाट अनुमति नलिई आईयुआई वा आईभीएफ सेवा सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ । अनुमतिका लागि तोकिएका कागजातसहित आवेदन दिनुपर्ने र मन्त्रालयको अनुगमन टोलीले स्थलगत निरीक्षण गरी मापदण्ड पूरा भएमा मात्र अनुमति प्रदान गरिने व्यवस्था गरिएको छ । अनुमति प्राप्त संस्थाले नियमित नवीकरण गराउनुपर्नेछ । मापदण्ड पूरा नगर्ने, नवीकरण नगराउने वा निर्देशन पालना नगर्ने संस्थाको सेवा मन्त्रालयले बन्द गर्न वा अनुमति खारेज गर्न सक्नेछ ।

यस्तै, सेवा शुल्क स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार मन्त्रालयले तोकेबमोजिम मात्र लिन पाइनेछ। तोकिएको भन्दा बढी शुल्क लिने संस्थालाई कानुनबमोजिम कारबाही गरिनेछ । सेवाको गुणस्तर, जनशक्ति र उपकरणको अवस्थाबारे अनुगमन गर्न मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुखको संयोजकत्वमा एक अनुगमन समिति रहनेछ । समितिले वर्षमा कम्तीमा दुई पटक वा आवश्यकताअनुसार कुनै पनि समयमा अनुगमन गर्न सक्नेछ ।

गोपनीयता, जनशक्ति उत्पादन र अभिलेख 

स्वास्थ्य संस्थाले सेवाग्राहीको स्वास्थ्य अवस्था र उपचारसम्बन्धी सबै जानकारी पूर्ण रूपमा गोप्य राख्नुपर्नेछ । मन्त्रालयले आई.भी.एफ. विशेषज्ञ र इम्ब्रायोलोजिष्ट जस्ता आवश्यक जनशक्ति उत्पादनका लागि शैक्षिक तथा फेलोसिप कार्यक्रमहरू सञ्चालन गर्न समन्वय गर्नेछ। सबै संस्थाहरूले प्रदान गरेको सेवाको अभिलेख व्यवस्थित गरी मासिक रूपमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा पठाउनुपर्नेछ । साथै, प्रत्येक संस्थाले गरिब तथा विपन्न नागरिकहरूलाई १० प्रतिशत सेवा निःशुल्क उपलब्ध गराउनु पर्नेछ ।

शुक्रकीट वा अण्डा दान गर्ने दाता (डोनर) का लागि मापदण्ड 

दाताको उमेर २० देखि ३५ वर्षको बीचमा हुनुपर्ने, कुनै पनि सरुवा रोग नभएको स्वास्थ्य परीक्षणबाट प्रमाणित हुनुपर्ने  र विवाहितको हकमा दम्पती दुवैको लिखित मन्जुरी हुनुपर्नेछ । दाताको परिचय पूर्ण रूपमा गोप्य राख्ने र एउटै व्यक्तिले निश्चित पटकभन्दा बढी दान गर्न पाउने छैन। दातालाई कुनै पनि प्रकारको प्रलोभनमा पार्न वा दबाब दिन पूर्ण रूपमा निषेध गरिएको छ भने कुनै पनि दाताले प्रलोभन वा प्रभाव वा दबाबमा परेर दान गर्न हुँदैन । 

विर्यदान गर्ने व्यक्तिले यी मापदण्ड पूरा गर्नुपर्छ 

एक डोनरले कम्तीमा १५ दिनको फरकमा १० पटक भन्दा बढी डोनेसन दिन पाउँदैन । यसको सुनिश्चितताका लागि विभिन्न सेवा प्रदायक संस्थाहरुबीच दोहोरो नपर्ने गरी समन्वय गर्ने प्रणाली निर्माण गर्नुपर्ने छ ।

यस्तै, डोनरको परिचय प्रापकलाई खुलाउन पाइँदैन । डोनरको उमेर २० देखि ३५ वर्षको हुनुपर्छ । डोनरको शारीरिक परीक्षण तथा आवश्यक जाँचहरू प्रयोगशालाबाट परीक्षण गरी कुनै सरुवा रोग नभएको हुनुपर्ने छ ।

यस्तै, नागरिकता नम्बर तथा जारी जिल्ला सम्बन्धित संस्थामा अनिवार्य रेकर्ड राख्नु पर्ने छ । बिरामीको आईडी अस्पतालमा रेकर्ड गरी परिचय नखुल्ने गरी कोड नं. मार्फत रेकर्ड राख्नु पर्ने छ । डोनेसन गर्ने समयको पछिल्लो तीन महिनाको आधारभूत परीक्षणहरूको रिपोर्ट अनिवार्य पेस गर्नु पर्ने छ र सेरोलोजी टेस्ट विगत तीन महिनाभित्र नेगेटिभ हुनु पर्ने छ । 

विर्यदान गर्ने व्यक्तिलाई सम्पूर्ण कुरा बुझाई सुसूचित मन्जुरीनामा लिनु पर्ने छ । विवाहितको हकमा श्रीमान् श्रीमती दुवै जनाको सुसूचित मन्जुरी हुनु पर्ने छ । कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी डोनेसन दिन बाध्य पार्न पाइने छैन ।

अण्डादान गर्ने व्यक्तिले पुरा गर्नु पर्ने मापदण्ड

एक डोनरले ६ पटक भन्दा बढी डोनेसन दिन मिल्दैन । डोनेसनको अवधि घटीमा पनि तीन महिनाको फरक हुनु पर्ने छ र यसको सुनिश्चितताका लागि विभिन्न सेवा प्रदायक संस्थाहरुबीच दोहोरो नपर्ने गरी समन्वय गर्ने प्रणाली निर्माण गर्नुपर्ने छ । डोनरको परिचय प्रापकलाई खुलाउन मिल्दैन । डोनरको उमेर २० देखि ३५ वर्षको हुनु पर्नेछ । यसैगरी, डोनरको शारीरिक परीक्षण तथा आवश्यक जाँचहरू प्रयोगशालाबाट परीक्षण गरी कुनै सरुवा रोग नभएको हुनुपर्ने छ । 

डोनेसन गर्ने समयको पछिल्लो तीन महिनाको आधारभूत परीक्षणहरूको रिपोर्ट अनिवार्य पेस गर्नु पर्ने छ र सेरोलोजी टेस्ट विगत तीन महिनाभित्र नेगेटिभ हुनु पर्ने छ । विवाहितको हकमा श्रीमान् श्रीमती दुवै जनाको सुसूचित मन्जुरी हुनु पर्ने छ । कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी डोनेसन दिन बाध्य पार्न पाइने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?