काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन आज आइतबार बिहान काठमाडौं आइपुगेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आजै उच्चपदस्थ भेटवार्ता गर्ने भएका छन् ।
भारतीय वायुसेनाको विमानबाट त्रिभुवन विमानस्थलमा अवतरण भएका भारतीय विदेश सचिव मिश्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओली, परारष्ट्रमन्त्री आरजु राणा देउवा, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई भेट्ने कार्यक्रम छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका उनले सुरुमा राईलाई भेट्ने कार्यक्रम तय भएको छ ।
त्यसपछि मिश्रीले प्रधानमन्त्री ओलीलाई भेट्ने छन् । प्रधानमन्त्रीसँगको भेटका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिनेछन् । प्रधानमन्त्री ओली भदौ ३१ गते २ दिने भारत भ्रमणमा जाँदैछन् । त्यसकै तयारी स्वरूप मिश्री काठमाडौं आएका हुन् । यसपटक मोदी र ओलीबीच बिहार राज्यको बोधगयामा औपचारिक भेटवार्ता गराउने तयारी छ । बोधगया बुद्धले ज्ञान प्राप्त गरेको स्थान मानिन्छ ।
ओलीलाई भेटेपछि उनले शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्री राणालाई भेटेपछि दुई पक्षीय वार्ता सुरु हुनेछ ।
भेटवार्ताका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुनेछ । उच्चस्तरीय भेटवार्ता र छलफलपछि उनी पशुपतिनाथको दर्शन गरेर भारत फर्किनेछन् ।
भारतीय विदेश मन्त्रालयले परराष्ट्र सचिवको आसन्न भ्रमण दुवै देशबीच हुने नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा निरन्तरता भएको र यसले द्विपक्षीय सम्बन्धलाई अझै अघि बढाउने अवसर प्रदान गर्ने जनाएको छ ।
आफ्नो छिमेक पहिलो नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताउँदै विदेश मन्त्रालयले भनेको छ, ‘परराष्ट्र सचिवको आसन्न भ्रमण दुवै देशबीच हुने नियमित उच्चस्तरीय आदानप्रदानको परम्परा निरन्तरता हो, जसले द्विपक्षीय सम्बन्धलाई अझै अघि बढाउने अवसर प्रदान गर्नेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया