काठमाडौं । गण्डकी प्रदेशमा गत पुस यता डेंगु संक्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ । पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त रोगको संक्रमण पुष्टि भएको छ ।
प्रदेशको स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार सबैभन्दा बढी कास्कीमा चार सय ४१, तनहुँमा एक सय २०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेंगु रोग देखिएको हो ।
मनाङ जिल्लामा यस वर्ष अहिलेसम्म डेंगु देखिएको छैन । प्रदेशभरमा पुष्टि भएका संक्रमितमध्ये आधाभन्दा बढी बिरामी कास्कीको पोखरा महानगरपालिकाका हुन् । पोखरामा हालसम्म चार सय ३२ जनामा डेंगु संक्रमण देखिएको छ । पछिल्लो तीन सातामा पोखरामा एक सय २९ जना डेंगु संक्रमणका बिरामी थपिएका थिए ।
प्रदेशको राजधानी पोखरा गत वर्ष डेंगुको ‘हटस्पट’ बनेको थियो । उक्त वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार छ सय जनाभन्दा बढीमा डेंगु संक्रमण भएको थियो । डेंगु संक्रमणबाट पोखराका तीन जनाको मृत्यु भएको थियो । साउनदेखि कात्तिकसम्म डेंगु संक्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा संक्रमणको दर बढ्दै जाने अनुमान छ । डेंगु न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित निकायले सक्रियता बढाएका छन् ।
स्थानीय तहले डेंगु रोग फैलन नदिन डेंगु सार्ने लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् ।डेंगु फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया