काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले रास्वपाले ०८४ मा १९० सिट ल्याउने दाबी गरेका छन् ।
शनिबार काठमाडौंको जडिबुटीमा मेलुङ शैलुङ–काठमाडौं सम्पर्क विभागले आयोजना गरेको वृहत भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिलेका १९ सांसदले नै संसदमा ठूलो प्रभाव पारेको भन्दै भविष्यमा सांसदको संख्या बढेपछि मुख्य दलहरुलाई झन् चुनौती हुने बताएका हुन् ।
खनालले भने, ‘अहिले १९ जना सांसदहरुमात्रै संसदमा छन् । तर १९ जनाले पनि कांग्रेस र एमालेका नेताहरुको ढ्याँग्रो पिट्न थालेपछि हरेक दिन हामीमाथि गाली वर्षाइन्छ । ०८४ मा १९० जना सांसद आए भने उनीहरुको अवस्था के होला ?’
उनले रास्वपा सुशासन र पारदर्शिताको पक्षमा रहेको भन्दै कांग्रेस र एमाले भने रास्वपाविरुद्ध मात्र उत्रिएको आरोप लगाए । ‘हामी प्रमुख प्रतिपक्ष दल होइनौँ तर संसदमा हाम्रै विरुद्ध आक्रमण हुन्छ । यसरी व्यवहार गर्ने हो भने आज रास्वपा नै साँचो अर्थमा प्रतिपक्ष दल जस्तो देखिन्छ,‘ खनालले टिप्पणी गरे ।
उनले ट्राभल एजेन्सीमार्फत टिकट बिक्रीलाई अपराधसरह चित्रण गर्ने कांग्रेस–एमालेको व्यवहारप्रति आक्रोश पोख्दै भने, ‘ट्राभल एजेन्सीले टिकट बेच्दैन भने के बेच्छ ? कानुनी प्रक्रिया पुर्याएर विदेश जान खोज्ने मानिसलाई दोषी बनाउने काम भइरहेको छ । तर अरबौं रुपैयाँ भ्रष्टाचार गर्नेहरु बचाइन्छन् ।’
रवि लामिछानेलाई निलम्बन गरिएको प्रसंग कोट्याउँदै उनले त्यसलाई राजनीतिक षड्यन्त्र र प्रतिशोधको परिणाम भने । ‘३५ लाखभन्दा बढी नेपालीले रविजीमाथि भएको प्रकरणलाई राजनीतिक प्रतिशोधको परिणाम मानेका छन् । त्यसैले कार्यकर्ताहरु विचलित नहुनुहोस्, आक्रमण हुनु भनेको सफलताको संकेत हो, ‘खनालले कार्यकर्ताहरुलाई निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया