काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगहरुले प्रयोग गरेको विद्युतको महशुल तिर्नुपर्दैन भनेर सरकारले कहिल्यै नभनेको स्पष्ट पारेका छन् ।
नेपाल विद्युत प्राधिकरणको ४०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले विद्युत प्राधिकरणले प्रवाह गरेको विद्युत उद्योगधन्दामा प्रयोग भए पनि महशुल नतिरी थन्किएको अवस्थालाई दुर्भाग्यपूर्ण रहेको बताएका हुन् ।
‘हामीले प्रवाह गरेको विद्युत उद्योगधन्दाले प्रयोग गरेका छन्, तर महशुल नतिरेर थन्किएको छ । सधैं यसरी नै रहिरहनु दुर्भाग्यपूर्ण हो,’मन्त्री खड्काले भने, ‘जति प्रयोग भएको हो, त्यो बराबरको असुल गर्नुपर्छ । त्यो तपाईंहरूको होइन, विद्युत प्राधिकरणको काम हो । सरकारको तर्फबाट कहिल्यै भनिएको छैन कि विद्युतको महशुल उठाउनु हुँदैन भनेर।’
उनले प्रयोग अनुसार महशुल तिर्ने कुरा सरकारको स्पष्ट नीति भएको बताए । ‘अहिले तपाईंले खाने खाना १ हजार वा १५ सयको हुन सक्छ, तर त्यो ५ हजार हाल्नुभयो भने अन्याय हुन्छ । तर तिर्नै पर्दैन भन्ने कुरा भने सरकारको कल्पना भन्दा बाहिरको कुरा हो,’उनले उदाहरण दिए ।
मन्त्री खड्काले उद्योगलाई निरुत्साहित नगरी न्यायोचित प्रक्रियाबाट अघि बढ्नुपर्नेमा जोड दिएका छन् । साथै, उनले ‘टिओडी मिटर’ (Time of Day Meter) को प्रयोगका आधारमा रकम असुल गर्ने व्यवस्था भए पनि किन मिटर जडान नगरेको भन्ने प्रश्न उठाएका छन् ।
कार्यक्रममा प्राधिकरणमा कार्यरत कर्मचारीलाई दीर्घ सेवा पदक, अवकाश पदक तथा अमर विद्युतकर्मी सम्मान पनि गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया