काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा थप १५ दिन रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भदौ १५ गतेसम्म रोक थप गरिएको जनाएको हो ।
शुक्रबार सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकले साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म यात्रुवाहक तथा निजी सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो । काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्मको क्षेत्रमा लागू हुने यो निर्णय मनसुन सक्रिय रहँदा बाढीपहिरोको उच्च सम्भावित जोखिम न्यूनीकरणका लागि गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार मनसुनमा बीपी राजमार्गका काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मका विभिन्न स्थान अत्यन्त जोखिमपूर्ण भएकाले रातको समयमा यातायात बन्द गरिएको हो । काठमाडौंबाट जाने सवारीलाई काभ्रेभञ्ज्याङमै रोकिने र काठमाडौं तर्फ फर्कने सवारी नेपालथोकमै रोकिने व्यवस्था मिलाइएको छ ।
यसअघि असार ७ गतेदेखि असार मसान्तसम्म करिब १० घण्टा, साउन महिनाभर १२ घण्टा रातिको समयमा राजमार्ग सञ्चालनमा रोक लगाइएको थियो। गत वर्ष असोजको बाढीपहिरोले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा सडक सञ्चालन गरिएको थियो। बाढीपहिरोले राजमार्गको ८४ किलोमिटर सडकलाई गम्भीर क्षति पुर्याएको थियो ।
क्षतिग्रस्त राजमार्गलाई चार खण्डमा विभाजन गरी स्थायी निर्माणको ठेक्का प्रक्रियामा अगाडि बढाइएको कार्यालयले जनाएको छ । पूर्वी नेपाललाई छोटो दूरीमार्फत जोड्ने यो राजमार्ग दैनिक हजारौँ सवारीसाधनको प्रमुख आवतजावत मार्गका रूपमा प्रयोग हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया