ठुला विद्युत् र सिँचाइ आयोजनालाई तीव्र गतिमा अघि बढाउनुपर्छ : ऊर्जामन्त्री खड्का

लोकपथ
126
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कार्यप्रगति देखिनेगरी ठुला विद्युत् र सिँचाइ परियोजनालाई अघि बढाउनुपर्ने बताएका छन् ।

शुक्रबार ऊर्जा मन्त्रालयमा सम्पन्न वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री खड्काले बलियो सरकार भएको अवसरमा ठुला आयोजना द्रुत गतिमा अघि बढाउन आग्रह गरे ।

‘विगतको सिकाइलाई आधार मानेर जिम्मेवारीका साथ काम गर्‍यौँ भने प्रगति हासिल गर्न सकिन्छ,‘ उनले भने, ‘ऊर्जा मुलुकको अर्थतन्त्रको प्रमुख आधार भएकाले अन्तर निकायको समन्वयमा यस क्षेत्रको विकास गर्नुपर्छ।’

उनले बैंकमा थुप्रिएको पुँजीलाई ऊर्जा विकासमा लगानी गराउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । ‘एकातिर बैंकमा पैसा थुप्रिएको छ, अर्कोतर्फ विदेशी लगानीकर्ताहरू आतुर छन्, तर हामीले किन यसलाई अघि बढाउन सकेनौँ भन्ने प्रश्न गम्भीर छ,‘उनले टिप्पणी गरे।

मन्त्री खड्काले हिउँदमा हुने विद्युत् अभाव समाधानका लागि जलाशययुक्त आयोजना विशेष प्राथमिकतामा राखेर अघि बढाइने जानकारी पनि दिए ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छाले विगतका कमजोरी सुधार्दै १६औँ पञ्चवर्षीय योजनासँग सम्बन्धित वार्षिक नीति र कार्यक्रम तयार गर्नुपर्ने सुझाव दिए । जलस्रोत तथा सिँचाइ सचिव सरीता दवाडीले वन र जग्गा प्राप्तिमा देखिएको अवरोधले आयोजनामा ढिलाइ भएको बताए ।

जल तथा ऊर्जा आयोगका सचिवालयका सचिव दिनानाथ मिश्रले तयारी बिना बजेट विनियोजन हुँदा खर्च हुन नसकेको र प्रगति कम देखिएको बताए । अर्थ मन्त्रालयका प्रतिनिधिले ऊर्जा र जलस्रोत क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजनमा मन्त्रालय सकारात्मक रहेको उल्लेख गरे ।

बैठकमा विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बराल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायतका प्रमुख कार्यकारी अधिकृतहरूले आयोजना निर्माणमा भोगिएका समस्याबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?