बागमती प्रदेशमा मन्त्रीपरिषद् विस्तार, ५ जना मन्त्रीले लिए शपथ

लोकपथ
427
Shares

हेटौँडा । बागमती प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्री अर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझीलाई शपथ गराए ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आजै उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका हुन्। सामाजिक विकास मन्त्रालयको जिम्मेवारी काभ्रेका बादे, आर्थिक मामिला तथा योजना मन्त्रालय रसुवाका तामाङ, युवा तथा खेलकुद मन्त्रालय ललितपुरकी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालय भक्तपुरका श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालय चितवनकी रायमाझीले पाएका छन्।

मुख्यमन्त्री बानियाँले यसअघि २० साउनमा आफूसहित ८ मन्त्री नियुक्त गरेका थिए। दोस्रो चरणमा कांग्रेसका पाँच मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय बनेको हो ।

२० साउनमा कांग्रेसबाट खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रीका रूपमा सिन्धुपाल्चोकका कृष्ण तामाङ र विना विभागीय मन्त्री धादिङका शिवराज अधिकारी नियुक्त भएका थिए। पछिल्ला भागबण्डापछि अधिकारीले संस्कृति तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी, २० साउनमै नेकपा एमाले कोटाबाट कृषि तथा पशुपन्छी विकास मन्त्रीमा ललितपुरका मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रीमा काठमाडौंका डा.दिनेशचन्द्र देवकोटा, वन तथा वातावरण मन्त्रीमा रसुवाका भरत केसी, श्रम, रोजगार तथा यातायात मन्त्रीमा काठमाडौंका जयरथ थापा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीमा बिन्दु श्रेष्ठ नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?