काश्मीरमा भीषण बाढी : कम्तीमा ६० जनाको मृत्यु, दर्जनौँ बेपत्ता

लोकपथ
616
Shares
फाइल तस्बिर

काठमाडौं । काश्मीरको किश्तवार जिल्लामा भीषण बाढीका कारण कम्तीमा ६० जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन् ।

भारी वर्षापछि हिमाली क्षेत्रको चिसोटी गाउँमा आएको बाढीले हिन्दू तीर्थयात्रीसहित सयौंलाई प्रभावित पारेको भारतीय अधिकारीहरूले जनाएका छन् ।

काश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहका अनुसार बाढीले अस्थायी भान्साबाट १०० भन्दा बढी तीर्थयात्रीलाई बगाएको छ । विपद् व्यवस्थापनका वरिष्ठ अधिकारी मोहम्मद इर्शादले एएफपीलाई उद्धृत गर्दै ६० जनाको मृत्यु रेकर्ड गरिएको तथा करिब ५० जना गम्भीर घाइतेलाई अस्पताल पठाइएको जानकारी दिएका छन् ।

उद्धार टोली र सैनिकहरू कठिन मौसम र दुर्गम भूभागको सामना गर्दै भग्नावशेष, ढुङ्गा र माटो हटाउँदै बेपत्ताहरूको खोजी कार्यमा जुटेका छन् ।

यसअघि गत अगस्ट ५ मा भारतको उत्तराखण्डमा आएको बाढीजन्य प्रकोपमा ७० भन्दा बढीको ज्यान गएको थियो । संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनले जलवायु परिवर्तनका कारण जल चक्रमा असर पारी मौसमी संकट बढिरहेको चेतावनी दिएको छ ।

आँधीका कारण सडकहरू पहिल्यै क्षतिग्रस्त भएको क्षेत्र श्रीनगरबाट २०० किलोमिटरभन्दा बढी सडक खण्ड बाढीले थप क्षतिग्रस्त भएको जनाइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार स्वतन्त्रता दिवसको अवसरमा दिएको सार्वजनिक सम्बोधनमा विपत्तिप्रति दुःख व्यक्त गर्दै केन्द्र र प्रदेश सरकारले मिलेर राहत तथा उद्धार कार्य गरिरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?