काठमाडौं । सुनसरीको रामधुनीस्थित क्षेत्रीय कारागार झुम्काबाट एक कैदी फरार भएपछि त्यहाँ कार्यरत सशस्त्र प्रहरीका कमान्डर सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेश श्रेष्ठलाई फिर्ता बोलाइएको छ । उनको ठाउँमा अर्का डीएसपी दिनेश कटुवाललाई पठाइएको छ ।
डीएसपी श्रेष्ठलाई नम्बर ४ गण सुनसरी फिर्ता बोलाइएको हो । कटुवाललाई भने सशस्त्र प्रहरी प्रधान कार्यालयबाट त्यहाँ पठाइएको हो ।
झुम्का कारागारको सुरक्षार्थ सशस्त्र प्रहरी नायव उपरीक्षकको कमान्डमा ३५ जनाको टोली खटिँदै आएको छ ।
जबरजस्ती करणी (बलात्कार) मुद्दामा सजाय तोकिएका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रूपक पौडेल (खत्री) फरार भएपछि डीएसपी खत्रीलाई फिर्ता बोलाइएको हो । खत्री मध्यरात कारागारको बी ब्लकबाट १६ फिट अग्लो वाल नाघेर भागेका थिए । कारागारभित्र मुढा बनाउने उद्योग छेउका बाँसका सामग्रीको सहारामा खत्री भागेका थिए । फरार भएपछि तत्कालै प्रहरी परिचालन गरी खोजतलास गरिएको भएपनि उनी फेला पर्न सकेका छैनन् ।
कारागारका जेलर सुवासकुमार लामिछानेका अनुसार कारागारको पर्खाल नाघेर बुधबार बिहानको राति २ बजेतिर खत्री फरार भएको चौकीदारले कारागार प्रशासनलाई जानकारी गराएका थिए ।
सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई अदालतले पुर्पक्षका लागि २१ साउन २०८१ मा कारागार चलान गर्न आदेश दिएको र पछिल्लो पटक २५ चैत २०८१ मा जिल्ला अदालत सुनसरीले १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । अदालतको फैसलाअनुसार सजाय भुक्तान गरिरहेका उनी फरार भएपछि छानबिन समिति बनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । उक्त समितिले कारागारको वस्तुस्थितिको अध्ययन गर्नेदेखि लिएर कैदी फरार भएकाको सन्दर्भसमेत समेटेर प्रतिवेदन तयार पार्ने छ ।
कारागारमा एक हजार ७ सय ९५ जना कैदीबन्दी थिए ।
२३ कात्तिक २०६९ मा झुम्का कारागारबाट सुरुङ खनेर ११ जना कैदी बन्दी फरार भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया