व्यवसायी डर , धम्की र चन्दा त्रासले गुप्तवास

काठमाडौं, २१ कात्तिक- आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा मुलुक निर्वाचनमय बन्दै गएको छ ।मुलुकका सबै क्षेत्रका व्यक्तिलाई यसले उत्साही तुल्याएको भए पनि निजी क्षेत्रका अधिकांश उद्यमी व्यवसायी भने गुप्तवास बस्न थालेका छन् विगत वर्षहरूमा जस्तै यसपटक पनि डर र धम्की देखाएर चन्दा असुल्ने भयले उनीहरू राजनीतिक दलहरूको सम्पर्कबाट टाढै बस्न खोजेका हुन् । उद्यमी व्यवसायीहरू चुनावी माहोलमा रमाउन नसकिरहेको बेला राजनीतिक दलहरूले भने चन्दाको शैली परिमार्जन गरी केही लचिलो बन्ने प्रयास गरेका छन् । उनीहरूले विगतमा जसरी डर र धम्कीपूर्ण तरिकाले नभई स्वेच्छिक रूपमा सहयोग गर्न व्यवसायीलाई आग्रह गरिरहेका छन्, राजधानी दैनिकमा खबर छ निजी क्षेत्रका उद्यमी व्यवसायीहरूको संस्था नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष हरिभक्त शर्माले जथाभावी रूपमा चन्दा माग गर्ने परिपाटीको अन्त्य गरी यसलाई कानुनी दायरामा ल्याउन आवश्यक भएको बताए । ‘दलहरूले आफ्नो विधानमा नै आयस्रोतका रूपमा चन्दालाई नै देखाएकाले उनीहरूले चन्दा माग गर्नु स्वाभाविक नै हो,’ उनले भने ‘यद्यपि यसलाई पारदर्शी बनाई कसले कति लियो र कसले कति दियो भन्ने प्रस्ट व्यवस्था हुनुपर्छ ।’चन्दालाई व्यवस्थित गर्न राज्यले नै एउटा प्रस्ट नीति निर्देशनसहितको कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष शर्माले त्यस्तो हुन नसके यसले विकृति निम्त्याउने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?