नेपाल बाल संगठनका बाँकी संरचना उपयोगमा ल्याउन मुख्यमन्त्री कार्कीको निर्देशन

लोकपथ
35
Shares

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल बाल संगठनलाई पुन:जीवित गराउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल बाल संगठन नक्साल काठमाडौंद्वारा आज विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले बाल संगठनलाई नयाँ ढंगले पुनर्जीवित गरेर अगाडि बढाउन सके बालबालिकाको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने धारणा राखे । उनले संगठनका विभिन्न जिल्लामा भएका संरचना उपयोगमा ल्याई अगाडि बढ्ने गरी काम गर्नुपर्नेमा जोड दिए । 

मुख्यमन्त्री कार्कीले बालबालिका हाम्रो भविष्य र हाम्रो सपना भएकाले उनीहरूलाई असल संस्कार र समाजप्रति उत्तरदायी बनाउनका लागि संगठनले सहयोगी भूमिका खेल्नुपर्ने उल्लेख गरे । प्रदेशस्थित संगठनको भौतिक संरचना र सम्पत्तिको अध्ययन गरी प्रतिवेदन पेस गर्न सामाजिक विकास मन्त्रालयलाई उनले निर्देशन दिए । 

मुख्यमन्त्री कार्कीले प्रतिवेदनका आधारमा आगामी दिनमा प्रदेश सरकारले आफ्ना नीति र कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले संघीय सरकारको हातेमालोबाट मात्रै प्रदेशमा बाल संगठनलाई अगाडि बढाउन सकिने धारणा  राखे । 

नेपाल बाल संगठनकी केन्द्रीय अध्यक्ष विद्या उपाध्याय न्यौपानेले संगठनको नाममा रहेको झापाको सरणामतीस्थित जग्गामा बालग्राम निर्माण गर्न प्रदेश सरकारलाई आग्रह गरे ।

संगठनका मोरङका अध्यक्ष नवीन पहाडी र उदयपुर अध्यक्ष भुवन दाहालले असहाय बालबालिकाको उचित शिक्षा दिनुका साथै उनीहरूको सर्वाङ्गीण विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए । एक दिने भेलामा प्रदेशका १३ जिल्ला संगठनका अध्यक्ष, सचिव, बालबालिकाका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिको सहभागिता छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?