सशस्त्रका दुई जना पूर्वडीआईजी र एकजना पूर्वएसएसपी रास्वपा प्रवेश

लोकपथ
30.5k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलका दुई जना पूर्व नायव महानिरीक्षक (डीआईजी) र एक जना पूर्व वरिष्ठ उपरीक्षक (एसएसपी) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । 

रास्वपा प्रवेश गर्ने पूर्वडीआईजीमा विदूर खड्का र दुर्गा भट्टराई तथा पूर्व एसएसपीमा विश्वेश्वर थापा छन् । उनीहरू केन्द्रीय कार्यालय वनस्थलीमा कार्यवाहक सभापति डीपी अर्यालको हातबाट औपचारिक रूपमा रास्वपा प्रवेश गरेका हुन् । 

रास्वपा प्रवेश गरेका पूर्वडीआईजी खड्का सशस्त्रमा नेपाली सेनाबाट स्थानान्तरण भई आएका थिए । उनी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको कार्यकालमै बलको केन्द्रीय प्रवक्ता बनेका थिए । उनले नम्बर ५ बाहिनीको बाहिनीपतिको जिम्मेवारीसमेत बहन गरेका थिए । 

यसैगरी, दुर्गा भट्टराई र विश्वेश्वर थापा नेपाल प्रहरीबाट सशस्त्रमा स्थानान्तरण भई आएका थिए । भट्टराई नम्बर ६ बाहिनी कार्यालयको बाहिनीपति रहेकै बेला ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका थिए । उनी गतवर्षको भदौ १५ गते अनिवार्य अवकाशमा गएका थिए । 

उनीहरूको रास्वपा प्रवेशलाई लिएर रास्वपाले भनेको छ, ‘देशको सुरक्षाको पहिलो पंक्तिबाट सेवा गरेका, अनुशासन, त्याग र नेतृत्वको प्रतिमूर्ति यी तीन व्यक्तित्वहरू आज स्वच्छ राजनीति र इमानको यात्रामा संगठित भएका छन् । यो केवल सदस्यता ग्रहण होइन—यो त सडेको राजनीति विरुद्धको विद्रोहको घण्टी हो, सुशासन र पारदर्शिताको घोषणापत्र हो ।

रवि लामिछानेप्रति प्रतिशोधको विष छरेर जनताको भरोसा तोड्नेहरू, र अन्य दलको भ्रष्टाचार, दलाली र नांगोे नाच हेरेर पनि मौन बस्नेहरू–यो प्रवेशले तपाईंको ढोंगी आवरण च्यातिदिएको छ ।

रास्वपाको ढोका अब यस्ता कर्मठ, इमानदार र दृष्टिवान् पात्रका लागि अझ ठूलो हुँदै जानेछ, किनकि देश अब बर्बादी होइन, पुनर्जागरणको बाटोमा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?