जसपा सांसद झाको प्रश्न : कारागारभित्र हातहतियार कसरी जान्छ ?

लोकपथ
105
Shares

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले कारागारभित्र हातहतियार र मादक पदार्थ पुग्ने विषयमा गम्भीर प्रश्न उठाउँदै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई सम्बोधन गर्दै उनले, जेलर र सुरक्षाकर्मीको व्यवस्था हुँदाहुँदै पनि कारागारभित्र अवैध कारोबार खुलेआम भइरहेको बताइन् ।

उनका अनुसार पैसाको लेनदेन, मादक पदार्थको बिक्री वितरण मात्र नभई हातहतियारसम्म भित्रिने अवस्था अत्यन्तै गम्भीर छ । ‘कारागारभित्र हातहतियार कसरी जान्छ ? मादक पदार्थ कसरी पुग्छ ? हामीसँग जेलर छ, सुरक्षा दिने निकाय छ, प्रशासन छ, तर भित्र यस्तो अवैध क्रियाकलाप भइरहेको छ,‘ भन्दै उनले मन्त्रालयलाई गम्भीर हुन आग्रह गरिन्।

सांसद झाका अनुसार, कारागारभित्र चौकीदार, नाइके र भाइनाइकेजस्ता पदमा पुग्नकै लागि हिंसात्मक घटना हुने गरेको छ । उनले क्षमताभन्दा बढी कैदी बन्दी राख्दा समेत समस्या बढेको बताइन् ।

देशभर ७२ जिल्लामा ७५ वटा कारागार मात्र रहेको जानकारी दिँदै उनले भक्तपुर, धनुषा, बारा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा अझै कारागार नखुलेको तथ्यांक प्रस्तुत गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?