काठमाडौं । पर्वत जिल्लाको तिलाहारस्थित नवजागृत माध्यमिक विद्यालयका पूर्वविद्यार्थी रवीन्द्रजंग लामिछानेले आफूले पढेको सो विद्यालयका लागि स्कुल बस प्रदान गर्ने घोषणा गरेका छन् ।
हाल बेलायतमा बस्दै आएका फेसन व्यवसायी तथा समाजसेवी लामिछानेले आउँदो दसैँको शुभ साइतमा विद्यालयका लागि नयाँ स्कुल बस प्रदान गर्ने घोषणा गरेका हुन् ।
लामिछानेले आफ्नो दिवंगत पिता चन्द्रजंग लामिछाने र माता श्रीमती रुक्बिना लामिछानेको पुण्य स्मृतिमा विद्यालयलाई निरन्तर सहयोग गर्दै आएका छन् ।
परोपकारको निरन्तर यात्रा ‘द लामिछाने फाउन्डेसन, युके’ तथा ‘रवि चन्द्र ट्रस्ट, नेपाल’ मार्फत लामिछानेले विगतका वर्षहरूमा पनि विद्यालयका विद्यार्थीहरूलाई हरेक वर्ष शैक्षिक सामग्री र स्कुल ब्याग वितरण गर्दै आएका छन् ।
यसपटक विद्यालयको आवश्यकतालाई ध्यानमा राखी आउँदो दसैँको शुभ साइतमा विद्यालयका लागि नयाँ स्कुल बस प्रदान गर्ने निर्णयले सम्पूर्ण विद्यालय परिवार, अभिभावक र विद्यार्थीहरूमा उत्साह र खुसी छाएको जनाइएको छ । व्यवसायबाट समाज सेवामा लोकप्रिय ब्रान्ड ‘जिनी लन्डन’का संस्थापक लामिछानेको ब्रान्डले फाउन्डेसनका परोपकारी गतिविधिहरूका लागि निरन्तर आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।

शिक्षाप्रेमी माता–पिताको प्रेरणाले उनको समाजसेवामा योगदान अझ बलियो बनेको देखिन्छ । विद्यालयका प्रधानाध्यापक विष्णु सुबेदीले लामिछानेको निरन्तर सहयोगलाई विद्यालयको प्रगति र विद्यार्थीको उज्ज्वल भविष्यका लागि महत्वपूर्ण आधारको रूपमा प्रशंसा गर्दै हार्दिक धन्यवाद व्यक्त गरेका छन् । उनको यो कदमले अन्य सफल व्यक्तिहरूलाई पनि आफ्नो जन्मभूमि र समाजप्रतिको दायित्वबोध गराउने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया