झापा । कोशी प्रदेशमा गाईभैँसीमा लाग्ने रोग ‘लम्पी स्किन’को सङ्क्रमण तीव्र रूपमा फैलिन थालेपछि गोठमै पुगेर खोप अभियान तीव्र पारिएको छ ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका अनुसार गर्मी बढेसँगै महामारीका रूपमा फैलिएको यस रोगविरुद्ध कोशीका १४ जिल्लामा हालसम्म तीन लाख ३७ हजार ३०१ पशुलाई निःशुल्क खोप लगाइएको छ ।
निर्देशनालयका सूचना अधिकारी तथा पशु चिकित्सक विनोदकुमार साहका अनुसार हालसम्म प्रदेशभर २४ हजार ८६१ पशु ‘लम्पी स्किन’बाट सङ्क्रमित भएका छन् भने ७६९ मरेका छन् ।
वैशाखदेखि अहिलेसम्म झापामा ९९ हजार ६७४, मोरङमा ६२ हजार १९९, सुनसरीमा ६४ हजार ४४१, उदयपुरमा १५ हजार ७३०, इलाममा ४१ हजार २८६, खोटाङमा चार हजार २९१, भोजपुरमा आठ हजार ६१५, ताप्लेजुङमा पाँच हजार ३५०, धनकुटामा १२ हजार १७५ र पाँचथरमा नौ हजार ७९४ पशुमा खोप लगाइएको छ। रोग नदेखिएका ओखलढुङ्गा र सोलुखम्बुका तीन हजार ७०० गाईगोरु, राँगा र भैँसीमा पनि रोगको जोखिम कम गर्न खोप दिइएको छ ।
‘लम्पी स्किन’ रोग लामखुट्टे, भुसुना, झिंगा, किर्ना आदिको टोकाइबाट फैलिने गर्दछ। यसबाट सङ्क्रमित पशुमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा गाँठागुठी देखिने, घाउ भएर पिप र रगत बग्ने र अन्ततः मृत्यु हुने जोखिम हुन्छ ।
साहले रोग नियन्त्रणका लागि सङ्क्रमित पशुलाई अलग्गै राख्ने, जुठो नखुवाउने र सरसफाइमा विशेष ध्यान दिन किसानलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया