चिनियाँ इन्टरनेट भित्र्याउने तयारी पूरा, भारतीय एकाधिकार अन्त्य हुँदै

काठमाडौं, २१ कात्तिक- नेपाल टेलिकमले चाइनाको बाटो हुँदै नेपालमा इन्टरनेट भित्र्याउने तयारी पूरा भएको जनाएको छ । गत मंसिरमा नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल (सीटीजी) बीच भएको सम्झौता अनुरूप टेलिकमले व्यावसायिक रूपमा चाइनाबाट इन्टरनेट ल्याउने तयारी गरेको हो । यसका लागि टेलिकमले गत हप्ता नै आफ्नो तर्फबाट सम्पूर्ण काम सकिएको जानकारीसहित व्यावसायिक सुरुवात गर्न स्वीकृति माग्दै टेलिकमले सीटीजीलाई पत्राचार गरिसकेको छ, अन्नपूर्ण पोस्टमा खबर छ टेलिकमका सहप्रवक्ता शोभन अधिकारीका अनुसार चिनियाँ इन्टरनेट भित्र्याउन नेपालको तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको छ । ‘यताबाट आवश्यक तयारी पूरा भएसँगै हामीले पत्राचार गरिसकेको हो’, उनले भने, ‘यो काम अबको एक हप्ता पूरा हुनेछ ।’ नेपालतर्फ धादिङबाट रसुवासम्म झन्डै ९० किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको छ । उता चीनतर्फको काम चीनले यसअघि नै गरिसकेको थियो । चिनियाँ इन्टरनेट जोडिएसँगै इन्टरनेटमा भारतको एकाधिकारको अन्त्य हुनेछ अहिलेसम्म नेपालमा भारतीय सञ्चार निगममार्फत भैरहवा, वीरगन्ज र विराटनगर हुँदै इन्टरनेट भित्रिरहेको छ । भारतीय बजारबाट आउने इन्टरनेट टाटा कम्युनिकेसन र एयरटेलको मात्रै छ । छिट्टै सरकारले भारतीय कम्पनी रिलायान्स कम्युनिकेसनबाट पनि नेपालमा इन्टरनेट सेवाको सम्झौता गर्ने जनाएको छ । चाइनाबाट आउने इन्टरनेटको व्यावसायिक सूरुवातसँगै रसुवाको जिलोङ गेटवे हुँदै नेपालमा इन्टरनेट सेवा भित्रिनेछ । रसुवाको जिलोङ हुँदै नेपाल र चीनलाई इन्टरनेटको स्थलमार्गबाट जोड्न आईपी सर्भिस उपलब्ध हुनेछ । यसो हुँदा हाल दुईवटा कम्पनीबाट मात्रै आएको इन्टरनेट अब बाँडिएर चारवटा पुग्नेछ । चिनियाँ इन्टरनेट आएपछि थप सहज र सस्तो हुने दाबी गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?