एमालेको बागमती प्रदेश कमिटीमा विद्या भण्डारीको पल्लाभारी, पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयको चर्को विरोध

लोकपथ
5.7k
Shares

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पल्लाभारी देखिएको छ । भदौ तेस्रो साता हुन गइरहेको एमालेको विधान अधिवेशनलाई लिएर चलाइएको सुझाव संकलन अभियानमा बागमती प्रदेश कमिटीका अधिकांश सदस्यले भण्डारीको पक्षमा मत जाहेर गरेका छन् । 

बागमती प्रदेश कमिटीले सोमबार सचिवालय बैठक राखेर सुझाव संकलन प्रक्रिया अघि बढाएको छ ।

स्रोत अनुसार प्रदेश सचिवालय बैठकमा अधिकांश नेताले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयप्रति चर्को असन्तुष्टि जनाएका थिए । जननेता मदन भण्डारीपत्नी विद्यादेवी भण्डारीको जीवन एमालेमै बितेकाले उनको सदस्यता नवीकरण नगर्ने निर्णयलाई सचिवालयका धेरैजसो नेताहरूले राम्रो नमानेको स्रोतको भनाइ छ । 

स्रोतका अनुसार, पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने केन्द्रीय समिति बैठकको निर्णयको पक्षमा सिन्धुपाल्चोकका बालकृष्ण देउजा मात्रै उभिएका थिए ‘पूर्वराष्ट्रपतिलाई राजनीतिमा रोक्ने निर्णयलाई अहिले मानेर जानुपर्छ, त्यो नै राम्रो हो’ भन्ने उनको धारणा थियो । 

तर सिन्धुलीका होमनारायण श्रेष्ठ, चितवनका कमल पाठक र काभ्रेका राजन भुर्तेलले मध्यमार्गी कुरा राखेका थिए । उनीहरूले केन्द्रीय समितिको निर्णयको पक्षमा आफूहरूलाई पूरै उभ्याएका थिएनन् । 

धादिङका नरेश खतिवडाले भने पार्टी निर्णयबारे पुनर्विचार गर्न सुझाव दिएका थिए । ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउन नहुने धारणा राखेका उनले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने केन्द्रीय समिति बैठकको निर्णयले तल्लो तहका कार्यकर्ता दुःखी भएको आफूले पाएको बताएका थिए । उनले विद्या भण्डारीलाई बाहिर राखेर चुनावमा नतिजा पनि राम्रो नआउने बताएका थिए ।  

धादिङकै रमेश आचार्यले पनि पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने पार्टी निर्णयको विरोध गरेका थिए । उनले उमेर हद र कार्यकालको व्यवस्था के कारणले हटाइयो भन्ने प्रश्न गर्दै यसबारे जवाफ मागेका थिए । 

रामेछापका शान्तिप्रसाद पौडेलले पूर्वराष्ट्रपति भण्डारीबारे भइरहेको विवाद चाँडो हल गर्नुपर्ने बताएका थिए ।

मकवानपुरका रघुनाथ खुलालले पूर्वराष्ट्रपति भण्डारीको विषय जति सक्दो छिटो समाधान गर्न सुझाव दिएका थिए । ‘यो विषयमा तलदेखि माथिसम्म दुईतिर भएको छ, एक बनाउनेतर्फ पहल होस्,’ उनले भनेका थिए । 

सिन्धुलीका शान्तिबहादुर कार्कीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीबाट निष्कासन गर्नु बेठिक भन्ने नेता कार्यकर्ताको बुझाइ आफूले पाएको बताए । उनले भने, ‘यसलाई जतिसक्दो चाँडो टुंग्याएर जानुपर्छ ।’

उनले विद्या भण्डारीको विषय वडासम्म पुगिसकेकाले यसबारे सोच्न नेतृत्वसँग आग्रह गरे ।

दोलखाकी कालिका पाठकले पूर्वराष्ट्रपति भण्डारीलाई रोक्ने निर्णयले पार्टीमा द्वन्द्व सिर्जना गरेको र समयमै समाधान नगरे चुनावमा समस्या आउन सक्ने चेतावनी दिइन् । 

काठमाडौंकी मिना काफ्लेले भण्डारीमाथि ठूलो अन्याय भएको बताइन् । ‘देश चलाउने पार्टीले यस्तो अन्याय गर्न मिल्दैन । पार्टीमा विद्या भण्डारीको ठाउँ नहुने पनि हुन्छ ?’ उनको प्रश्न थियो, ‘सिंगो जीवन पार्टीलाई दिएको मान्छेलाई ठाउँ नहुने कुराले सारा कार्यकर्ताको मन रोएको छ ।’

काभ्रेका कुमार तिमिल्सिनाले विद्या भण्डारीलाई पार्टी राजनीतिबाट बाहिर राख्ने काम स्वीकार गर्न नसक्ने बताए । 

चितवनकी शारदा कुमालले पनि पूर्वराष्ट्रपति भण्डारीमाथि अन्यायले तल्लो तहसम्मका मनहरू रोएको बताएकी थिइन् ।

जिल्ला अध्यक्षहरूतर्फ सिन्धुलीका महेन्द्र श्रेष्ठ र दोलखाका नरबहादुर श्रेष्ठले पार्टी संस्थापनको पक्षमा बोलेका थिए । उनीहरूको तर्क विद्या भण्डारी राजनीतिमा आउन हुन्न भन्ने नै थियो ।

काभ्रेका राजन भुर्तेल, सिन्धुपाल्चोकका होमनारायण श्रेष्ठ, रसुवाका केसाङ तामाङ, ललितपुरका पुरुषोत्तम आचार्य र चितवनका कमल पाठक कतै नखुल्दा काठमाडौंका दीपक निरौला, रामेछापका पुरुषोत्तम कडरिया र धादिङका भूमि त्रिपाठी पूर्वराष्ट्रपतिको पक्षमा देखिएका थिए । भक्तपुरका बचन देउजा, नुवाकोटका बद्री मैनाली र मकवानपुरका श्रीधर पोखरेल बैठकमै अनुपस्थित थिए । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले अपानि जारी गरी आगामी १० भदौसम्म सुझाव पठाउने डेडलाइन तोकेका छन् । उक्त डेडलाइनलाई आधार मानेर सुझाव संकलन कार्यलाई तीव्र पारिएको छ ।

जसमध्ये पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन रोक लगाइएको, विधानको ७० वर्षे उमेर हद हटाइएको लगायत प्रस्तावलाई चासोका साथ हेरिएको छ । नेता–कार्यकर्ताहरूको सुझाव पनि यिनै विषयमा बढी केन्द्रित देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?