कुलिङ अफ पिरियडसम्बन्धी गडबडी : राज्य व्यवस्था समितिका सभापति खतिवडा राजीनामा दिने मनस्थितिमा

लोकपथ
749
Shares
फाइल तस्बिर

काठमाडौं । कुलिङ अफ पिरियडसम्बन्धी गडबडी छानबिन विशेष समितिले जिम्मेवार ठहर गरेका राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिने मनस्थिति बनाएका छन् । उनले प्रतिनिधिसभा बैठकबाटै राजीनामा घोषणा गर्ने स्रोतको भनाइ छ । 

खतिवडाले आज मंगलबारको बैठकमा बोल्नका लागि सभामुखसँग समय मागेकाले राजीनामा घोषणा गर्ने सम्भावना बढेको छ । 

प्रतिनिधिसभाको बैठक सुरु हुनु अघि उनले सभामुख देवराज घिमिरे र कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसँग भेटेका थिए ।

छानबिन विशेष समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई किटान नै गरेर जिम्मेवार ठहर गरेको थियो ।

छानबिन समितिको प्रतिवेदनमा सभापति खतिवडाका बारेमा भनिएको छ, ‘परिमार्जित मस्यौदा प्रतिवेदन समितिका माननीय सदस्यहरूलाई देखाई छलफल गरी सभामा पेस गर्नु पर्नेमा सो नगरी निश्चित व्यक्तिहरूबिच अनौपचारिक बैठक बसी मिति २०८२/०२/१३ मा प्रतिवेदन पठाएको देखिँदा माननीय सभापतिको समन्वयकारी भूमिकामा कमी भएको देखियो ।’

प्रतिवेदन सभापतिको हस्ताक्षरबाट सभामा पेस भएको देखिँदा कानुनतः हस्ताक्षरकर्ताको हैसियतले मस्यौदामा देखिएको गम्भीर त्रुटिका सम्बन्धमा समितिको मुख्य जिम्मेवारीमा रहेको सभापतिले ‘उत्तरदायीपूर्ण भूमिका वहन गरेको देखिएन’ भन्ने पनि प्रतिवेदनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?