काठमाडौं । वीरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा मंगलबार एकजना कैदीको मृत्यु भएपछि अस्पतालमा तनाव सिर्जना भएको छ ।
वीरगन्ज महानगरपालिका–२५ घर भएका कैदी राहुल साहको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरूले अस्पताल प्रशासन, जेल प्रशासन र चिकित्सकमाथि लापरबाहीको आरोप लगाउँदै नारायणी अस्पताल बाहिर टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
परिवारका अनुसार अस्पतालले प्रारम्भिक उपचारपछि थप उपचारका लागि अन्यत्र लैजान सिफारिस गरेको थियो । तर, कैदीलाई अन्य अस्पतालमा लैजान जेल प्रशासनले अनुमति नदिँदा मृत्यु भएको मृतकका आफन्तहरूको आरोप छ । घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न उनीहरूको माग छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रका अनुसार आज बिहान वीरगन्ज कारागारमा व्यायाम गरिरहेका बेला साहको स्वास्थ्य समस्या आएको थियो । ‘उनलाई तत्कालै अस्पतालमा लगियो, तर त्यहाँ उनको मृत्यु भयो,’ उनले भने ।
मृतक साह ३ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा जेल सजाय काट्दै आएको बताइएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा अदालतबाट २५ वर्षको सजाय सुनाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया