काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले आज अपराह्न ४ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ । तर, निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा आफ्ना पक्षधर १४ सांसदलाई लिएर काठमाडौंमै छन् । यसैकारण समय घर्किँदै गएकाले बानियाँ अप्ठ्यारोमा पर्दै गएका छन् ।
आफू मुख्यमन्त्री हुँदा नियुक्त गरेका तीन मन्त्रीलाई शपथ गराउनुपर्ने लामाको अडान छ । पार्टी सभापति शेरबहादुर देउवासहित बसेको बैठकमा बानियाँले तीन मन्त्रीको शपथ गराउने वचन पनि दिएका थिए । बानियाँको यस्तो वचनपछि मात्रै लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
तर, मुख्यमन्त्री नियुक्त भएको एक साता बितिसक्दा पनि बानियाँले उनीहरूलाई शपथ नगराएकाले लामा पक्ष बिच्किएको हो ।
लामाले साउन १४ गते गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए ।
बानियाँले सहमति कार्यान्वयन नगरेको भन्दै सभापति देउवाको निर्देशनसमेत नमानी लामा समूह अहिलेसम्म काठमाडौंमै बसिरहेको छ ।
कांग्रेस र एमालेका ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँलाई विश्वासको मत दिन दुई दलले ह्विपसमेत जारी गरिसकेको छ । तर लामा पक्ष सहमति कार्यान्वयन नगरे सामूहिक राजीनामा दिनेसम्मको मनस्थितिमा पुगेको छ ।
उता, असन्तुष्ट पक्षले बागमती प्रदेशका मुख्यमन्त्री बानियाँको विश्वासको मतसम्बन्धी प्रस्ताव केही दिन पर सार्न प्रस्ताव गरेको छ ।
लामा पक्षले पार्टीभित्रको आन्तरिक विवाद समाधान गरेर मात्र विश्वासको मत लिन मुख्यमन्त्री बानियाँलाई आग्रह गरेको हो । लामा नेतृत्वको समूहले पार्टीको निर्देशनअनुसार चल्न तत्काल सम्भव नरहेको जनाएको छ ।
निवर्तमान मुख्यमन्त्री लामाले पार्टीको निर्देशनअनुसार चल्न आफू तयार रहे पनि साथीहरूको आग्रह अनुसार निर्णय गर्ने गरी अघि बढेको बताए । आफ्नो समूहमा रहेका सांसदहरू तत्काल विश्वासको मत दिने पक्षमा सन्तुष्ट नरहेकाले सो विषय मिलान गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
यो विषयमा लामा पक्षको बैठक बस्दै छ । लामाका अनुसार केहीबेरमा बैठक बसेर आफ्ना अडान र विश्वासको मत विषयमा निर्णय गरिने छ । उनले अपमानित भएर पार्टीको निर्देशन मान्ने सोचमा साथीहरू नरहेको उनेले बताए ।
११० सदस्य बागमती प्रदेश सभामा सत्तारुढ दल कांग्रेसको ३७, एमालेको २७, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको दुई सांसद रहेका छन् । विश्वासको मत पाउन ५६ सांसदको आवश्यक पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया