रास्वपा संसदमा प्रवेश गरेसँगै सदन हेर्न र सुन्नलायक भएको छ : डोलप्रसाद अर्याल

लोकपथ
595
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नीति नियमहरु आधुनिक पुस्तालाई लक्षित गरेर बनाउनुपर्ने बताएका छन् ।

मंगलबार पार्टीको युवा विभागले ललितपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अघिल्लो पुस्ताको लागि नभइ अब बन्ने नीतिहरु आधुनिक पुस्ताको लागि हुनुपर्ने बताए ।

उनले संघीयता र संविधानको कार्यान्वयनका लागि आगामी पुस्तालाई हेरेर बौद्धिक नक्शा कोर्नुपर्ने बताए । राजनीतिक वृत्तमा पनि अब युवा पुस्ता अपरिहार्य भएको उल्लेख गरे । रास्वपा संसदमा प्रवेश गरेसँगै सदन अहिले सुन्न, हेर्न लायक भएको पनि बताए ।

उनले भने, ‘बितेर जाँदै गरेको म र म भन्दा अघिल्लो पुस्ताको लागि भन्दा पनि आधुनिक पुस्ताको लागि हामीले नीति बनाउनुपर्नेछ । संघीयता आएको छ, नयाँ संविधान देशमा बनेको छ भने यसलाई कार्यान्वयन गर्ने बाटोमा जान आगामी पुस्तालाई हेरेर बौद्धिक नक्शा यस्तो कोर्नुपर्‍यो की देश निर्माणको लागि ५० वर्षको नक्शा कोर्नुपर्छ । जुन नक्शामा टेकेर देश निर्माण हुनसक्छ, युवापुस्ता यहीँ बस्न सक्छ । राजनीतिक वृत्तमा पनि अब युवा पुस्ता अपरिहार्य भएको हामीले देखेका छौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो व्याख्या गरेको जस्तो लाग्ला तर हामीले रास्वपाको व्याख्या गर्न लागेको होइन । सदन अहिले सुन्न, हेर्न लायक भएको भनेर स्वदेशमा मात्रै होइन, विदेशमा बस्ने मानिसहरुले पनि भनिरहेको अवस्था छ । यसको अर्थ सबैजना रास्वपा नै हुनुपर्छ, यो नै अन्तिम हो भन्ने होइन ।’

कार्यवाहक सभापति अर्यालले राजनीतिमा लाग्नुपर्छ भन्नेकुरा आफ्ना व्रह्मले भनेपछि मात्रै रास्वपामा प्रवेश गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?